• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

धादिङमा दुई वटा बस ठोक्किए, चिया पिउँदै गरेका टिपर चालकको मृत्यु

काठमाडौं । धादिङको थाक्रे गाउँपालिका–६ मा आज बिहान दुई वटा बस ठोक्किएर दुर्घटना भएको छ । काठमाडौंबाट रसुवाका लागि छुटेको बागमती प्रदेश ०१००६ ख ५२०६ नम्बरको बस र दाङबाट काठमाडौं लागि छुटेको प्रदेश ३–०१००६ ख १५५२ नम्बरको बस आज बिहान ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा नजिकै चिया पसलमा चिया पिउँदै गरेका एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा टिपरका चालक धादिङको धुनिवेशी नगरपालिका–९ स्याउलेका ३५ वर्षीय सुजन तामाङ रहेको ट्राफिक प्रहरी कार्यालय गजुरी धादिङले जनाएको छ ।

ठक्करबाट अनियन्त्रित एउटा बस सडक छेउमै रहेको चिया पसलमा पुगेको थियो । चिया पसल सञ्चालक खगेश्वर शर्मा र रसुवाका लागि छुटेको बसका यात्रु सफलता पुलामी मगर घाइते भएका छन्। घाइतेमध्ये शर्मालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।

दुर्घटना भएका बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।