• २०८३ जेठ २०
  • 2026 June 03, Wednesday

आक्रमण भए अमेरिकी सैन्य अड्डालाई निसाना बनाउने इरानको चेतावनी

काठमाडौँ । मध्य पूर्वमा तनाव बढ्दै जाँदा इरानले अमेरिकालाई कडा चेतावनी दिएको छ। इरानले यदि आफूमाथि कुनै पनि सैन्य आक्रमण भएमा यस क्षेत्रमा रहेका अमेरिकी सैन्य आधार शिविरहरूलाई निसाना बनाउने घोषणा गरेको हो।

इरानी विदेशमन्त्री अब्बास अरागचीले शनिबार एक अन्तर्वार्तामा भने, ‘यदि वासिङ्टनले हामीमाथि आक्रमण गरेमा हामी अमेरिकी भूमिमा होइन, यस क्षेत्र (मध्य पूर्व) मा रहेका उनीहरूका सैन्य अखडाहरूमा आक्रमण गर्नेछौँ।’ उनले ओमानमा शुक्रबार भएको वार्तापछि अमेरिका र इरानबीच चाँडै अर्को चरणको वार्ता हुने अपेक्षा पनि व्यक्त गरे।

यो चेतावनी त्यस्तो बेला आएको छ जब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विट्कोफ र ट्रम्पका ज्वाइँ जेरेड कुश्नरले अरब सागरमा तैनाथ अमेरिकी विमानवाहक ‘अब्राहम लिंकन’ युद्धपोतको भ्रमण गरेका थिए।

ट्रम्पले इरानलाई सैन्य दबाबमा राख्न यो युद्धपोत मध्य पूर्व पठाएका हुन्। विट्कोफले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हामीले अब्राहम लिंकनमा रहेका बहादुर नाविकहरूलाई भेट्यौँ, जो ‘शक्तिको माध्यमबाट शान्ति’ ल्याउने राष्ट्रपति ट्रम्पको सन्देशलाई समर्थन गर्छन्।’

विश्लेषकहरूका अनुसार यो भ्रमण इरानका लागि एउटा सन्देश हो, यदि वार्ता असफल भएमा अमेरिका सैन्य विकल्पका लागि तयार छ।

शुक्रबार ओमानमा इरान र अमेरिकाबीच परमाणु मुद्दामा केन्द्रित रहेर अप्रत्यक्ष वार्ता भएको थियो। राष्ट्रपति ट्रम्पले पनि आगामी हप्ता पुनः वार्ता हुने बताएका छन्। तर, वार्ताको केही घण्टापछि नै ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूमाथि थप २५ प्रतिशतसम्म भन्सार शुल्क लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्।

इरानी विदेशमन्त्री अरागचीले स्पष्ट पारेका छन्, युरेनियम संवर्धन इरानको अधिकार हो र यसमा कुनै प्रतिबन्ध स्वीकार्य छैन। उनले भने, ‘बमबारी गरेर पनि उनीहरूले इरानको क्षमता नष्ट गर्न सकेनन्।’ साथै, मिसाइल कार्यक्रम सुरक्षासँग जोडिएको विषय भएकाले यसमा पनि कुनै वार्ता नहुने उनले दोहोर्‍याए।

इरानी सशस्त्र बलका प्रमुख मेजर जनरल अब्दुलरहीम मौसवीले पनि ‘शत्रुको कुनै पनि सैन्य दुस्साहस उनीहरूका लागि रणनीतिक हारमा परिणत हुने’ चेतावनी दिएका छन्।

अमेरिका र इरानबीचको यो खिचातानीका कारण इरानी मुद्रा ‘रियाल’ इतिहासकै कमजोर अवस्थामा पुगेको छ। तेहरानको बजारमा अहिले एक अमेरिकी डलरको मूल्य १५ दशमलव ९ लाख रियाल पुगेको छ। अघिल्लो हप्ता मात्र यो दर १५ लाख थियो।

यसैबीच, दोहा पुगेका अरागचीले इजरायलको क्षेत्रीय नीतिको आलोचना गर्दै प्यालेस्टाइनको मुद्दा उठाएका छन्। उनले गाजामा इजरायलले गरिरहेको कारबाहीलाई ‘मानवीय अत्याचार’ भन्दै अन्तर्राष्ट्रिय कानुनको धज्जी उडाएको आरोप लगाए। उनले भने, ‘कुनै पनि क्षेत्रमा तबसम्म स्थिरता आउन सक्दैन जबसम्म एउटा पक्षलाई कानुनभन्दा माथि रहेर काम गर्ने छुट दिइन्छ।’

–बीबीसी हिन्दीको सहयोगमा ।