आइसिसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को खेलमा स्कटल्याण्डले इटालीमाथि ७३ रनको शानदार जित दर्ता गरेको छ ।
कोलकाताको इडन गार्डेन्समा टस जितेर इटालीले पहिले बलिङ गर्ने निर्णय गरेपछि ब्याटिङमा उत्रिएको स्कटल्याण्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २०७ रनको विशाल योगफल तयार पारेको थियो ।
स्कटल्याण्डका लागि प्रारम्भिक ब्याट्सम्यान जर्ज मन्सीले विष्फोटक ब्याटिङ गर्दै ५४ बलमा १३ चौका र २ छक्काको मद्दतले ८४ रन बनाए । त्यस्तै, ब्रान्डन म्याकमुलनले १८ बलमा अविजित ४१ रनको योगदान दिए, जसमा उनले ४ वटा छक्का प्रहार गरे । खेलको अन्त्यतिर माइकल लीस्कले मात्र ५ बलमा अविजित २२ रन जोड्दै टोलीलाई २०० रनको आँकडा पार गराएका थिए ।
२०८ रनको लक्ष्य पछ्याएको इटालीले १४ ओभरमा ५ विकेटको क्षतिमा १२९ रन बनाएर बलियो चुनौती दिइरहेको थियो । तर, माइकल लीस्कको घातक बलिङसामु इटालीको ब्याटिङ लाइनअप ध्वस्त भयो । लीस्कले ब्याटिङमा मात्र नभई बलिङमा पनि उत्कृष्ट प्रदर्शन गर्दै १७ रन खर्चेर ४ विकेट लिए ।
एक समय खेलमा राम्रो पकड बनाइरहेको इटाली अन्ततः लक्ष्यभन्दा ७३ रनले पछि रहन पुग्यो । स्कटल्याण्डका ब्याट्सम्यान र बलरको उत्कृष्ट तालमेलका कारण इटालीले खेलमा पुनरागमन गर्न सकेन ।
स्कटल्याण्डको यो दोस्रो खेल हो। यसअघि पहिलो खेलमा उ वेस्ट इण्डिजसँग पराजित भएको थियो । नेपालले वेस्ट इण्डिज, स्कटल्याण्ड र इटालीसँग खेल्न बाँकी छ ।