साउदी अरब सरकारले देशका लाखौँ ऊँटहरूका लागि ‘पासपोर्ट’ जारी गर्ने घोषणा गरेको छ । यो सुन्दा अनौठो लागे पनि यी बहुमूल्य जनावरहरूको संरक्षण, व्यवस्थापन र पहिचानका लागि साउदीले यस्तो कदम चालेको हो ।
साउदी अधिकारीहरूका अनुसार पासपोर्ट जारी गर्नुको मुख्य उद्देश्य ऊँटहरूको भरपर्दो डाटाबेस तयार पार्नु, तिनीहरूका मालिकको पहिचान सुनिश्चित गर्नु र ऊँट पालन व्यवसायलाई अझ व्यवस्थित बनाउनु हो ।
साउदी अरबको पर्यावरण, जल तथा कृषि मन्त्रालयले सामाजिक सञ्जालमा सार्वजनिक गरेको भिडियोमा हरियो रङको पासपोर्ट देखाइएको छ । उक्त पासपोर्टको कभरमा साउदी अरबको राष्ट्रिय चिन्ह (राजचिन्ह) र ऊँटको सुनौलो छाप अंकित गरिएको छ ।
साउदी अरबमा हाल करिब २२ लाख ऊँटहरू रहेको अनुमान छ, जसले देशको अर्थतन्त्रमा वार्षिक २ अर्ब रियालभन्दा बढीको योगदान पुर्याउँछन् । ‘भिजन २०३०’ अन्तर्गत साउदीले तेलमा आधारित अर्थतन्त्रको विकल्प खोजिरहेका बेला ऊँटमा आधारित उद्योगलाई आम्दानीको प्रमुख स्रोत बनाउने लक्ष्य राखेको छ ।
ऊँटलाई ‘मरुभूमिको जहाज’ भनिन्छ । साउदीको इतिहास र संस्कृतिमा यसको भूमिका अतुलनीय छ । साउदीका चट्टानहरूमा ७ देखि ८ हजार वर्ष पुराना ऊँटका आकृतिहरू कुँदिएका भेटिएका छन्, जुन इजिप्टका पिरामिडभन्दा पनि पुराना मानिन्छन् ।
इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको ‘कस्वा’ नामक ऊँट थियो । प्राचीन समयमा मक्का र मदिनाको यात्राका लागि ऊँट नै एक मात्र सहारा थियो । साउदी अरबमा ऊँटहरूको सौन्दर्य प्रतियोगिता र दौड आयोजना गरिन्छ, जहाँ उत्कृष्ट ऊँटहरूलाई करोडौँका पुरस्कार प्रदान गरिन्छ ।
अहिले साउदी अरबले ऊँटको दूधबाट आइसक्रिम र पाउडर बनाएर विश्वका २५ भन्दा बढी देशमा निर्यात गर्न थालेको छ । त्यस्तै, ऊँटको छालाबाट बनेका जुत्ता र झोलाहरू पनि निकै बलिया र महँगा मानिन्छन् ।
साउदी नागरिकका लागि ऊँट केवल एउटा जनावर मात्र नभई उनीहरूको गौरव, इतिहास र भविष्यको आर्थिक मेरुदण्ड पनि हो । यही महत्त्वलाई आत्मसात् गर्दै सरकारले अब हरेक ऊँटलाई कानुनी पहिचान (पासपोर्ट) दिन लागेको हो ।