• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

अमेरिकाको व्यस्त सडकमा विमानको आकस्मिक अवतरण, गुडिरहेका गाडीसँग ठोक्कियो

अमेरिकाको जर्जिया राज्यमा एउटा सानो विमान गुडिरहेका गाडीहरूमाथि खस्दा केही व्यक्ति घाइते भएका छन्। सोमबार गेन्सभिलको एउटा व्यस्त सडकमा आकस्मिक अवतरण गर्ने क्रममा सो दुर्घटना भएको हो।

प्रहरीका अनुसार एकल इन्जिन भएको सो प्रशिक्षण विमान उडेको केही बेरमै इन्जिनमा समस्या आएको थियो। विमानलाई पुन: विमानस्थलसम्म पुर्‍याउन पर्याप्त ‘पावर’ नभएपछि पाइलटले व्यस्त सडकमै अवतरण गराउनुपरेको थियो।

सामाजिक सञ्जालमा भाइरल भिडियोमा विमान सडकमा ओर्लिएको र त्यसपछि गुडिरहेका सवारीसाधनसँग ठोक्किएको देखिन्छ। प्रहरीका अनुसार अवतरणका क्रममा विमानको दाहिने पखेटा एउटा गाडीमा ठोक्किएको थियो। सो क्रममा विमानको इन्धन ट्याङ्की नै उप्किएर सडकमा गुडिरहेको एउटा एसयूभी गाडीको भित्र छिरेको थियो।

यस भयानक दुर्घटनामा मानवीय क्षति भने हुन पाएन। दुर्घटनामा परेका केही व्यक्तिलाई सामान्य चोट लागेको छ। विमान दुर्घटनापछि उक्त राजमार्ग पूर्ण रूपमा बन्द गरिएको थियो, जसका कारण यात्रुहरूले लामो समयसम्म ट्राफिक जामको सामना गर्नुपरेको थियो।

‘नेसनल ट्रान्सपोर्टेसन सेफ्टी बोर्ड’ का अनुसार विमान गेन्सभिलको ली गिल्मर मेमोरियल विमानस्थलबाट क्यान्टनतर्फ जाँदै थियो। उड्ने बित्तिकै समस्या देखिएपछि पाइलटले विमानलाई फर्काउन खोजे पनि सम्भव नभएपछि सडकमै उतारेका थिए।

दुर्घटनामा परेको विमान ‘हकर बिचक्राफ्ट बीई-३६’ रहेको संघीय उड्डयन प्रशासनले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।