• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

काठमाडौं महानगरद्वारा विद्यालय केन्द्रित निशुल्क एचपीभी खोप अभियान सुरु

काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्यालयमा अध्ययनरत छात्राहरुलाई पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप लगाउने अभियान सुरु गरेको छ ।

मंगलबार पद्यमकन्या विद्याश्रम मा.वि. डिल्लीबजारबाट काठमाडौं महानगरपालिका स्वास्थ्य विभागले विद्यालयमा अध्ययनरत छात्राहरुलाई केन्द्रित नियमित एचपीभी खोप लगाउने अभियानको उद्घाटन गरिएको हो ।

विद्यालय केन्द्रित नियमित एचपीभी खोप उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै काठमाडौं महानगरपालिकी कार्यवाहक प्रमुख सुनिता डंगोलले पहिले यो खोप पैसा तिरेर लिनु परेको उल्लेख गर्दै अहिले निशुल्क विद्यालयमा खोप लगाउने कार्यक्रम भइरहेको बताइन् ।

‘अघिल्लो वर्षबाट सुरु गरिएका थियौ । पहिले यो खोप पैसा तिरेर लिइरहनु भएको थियो भने अहिले निशुल्क विद्यालयमा खोप लगाउने कार्यक्रम भइरहेको छ,’ उनले भनिन्, ‘यो कार्यक्रमबाट धेरैभन्दा धेरै बहिनीहरुले यसबाट लाभ लिनुहोस् भन्ने चाहान्छौ।’

डंगोलले स्थानिय सरकारको सहकार्यमा खोप लगाउने अभियान देशैभरी भइरहेको जानकारी समेत दिइन् । ‘आज एचपीभी भाइरसको खोप उल्लासका साथमा देशैभरी विभिन्न ठाउँमा विशेषगरी स्थानिय सरकारको सहकार्यमा खोप लगाउने कार्यक्रम भईरहेको छ । आज हामीले यहाँ पनि भ्याक्सिनको कार्यक्रम गरिरहेका छौं,’ उनले भनिन् ।