अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले एक टेलिभिजन अन्तर्वार्तामा आफूले भारत र पाकिस्तानबीचको सम्भावित ठूलो युद्ध रोकेको दाबी गरेका छन् । उनले आफ्नो ‘ट्यारिफ’ (भन्सार शुल्क) नीतिका कारण करोडौँ मानिसको ज्यान जोगिएको बताएका हुन् ।
अन्तर्वार्ताका क्रममा ट्रम्पले भने, ‘मैले अहिलेसम्म आठवटा युद्ध रोकेको छु । तीमध्ये ६ वटा युद्ध ट्यारिफको बलमा रोकिएका हुन् । मैले उनीहरूलाई सिधै भनेको थिएँ— यदि तिमीहरूले युद्ध रोकेनौ भने म तिमीहरूमाथि भारी ट्यारिफ लगाइदिनेछु ।’
मानिसहरू मरेको आफूले देख्न नसक्ने बताउँदै ट्रम्पले भारत र पाकिस्तानको सन्दर्भमा निकै गम्भीर दाबी गरे । उनले भने, ‘भारत र पाकिस्तानको मामिलामा मेरो बुझाइमा त्यहाँ आणविक (न्युक्लियर) युद्ध नै हुन सक्थ्यो । त्यतिबेला १० वटा विमान त खसालिइसकेका थिए ।’
ट्रम्पले पाकिस्तानका प्रधानमन्त्रीले समेत आफ्नो प्रशंसा गरेको उल्लेख गर्दै अगाडि भने, ‘पाकिस्तानका प्रधानमन्त्रीले राष्ट्रपति ट्रम्पले युद्ध रोकेर करोडौँ मानिसको ज्यान जोगाएको बताउनुभएको छ । ट्यारिफको डर नदेखाएको भए यो सम्भव हुने थिएन ।’
ट्रम्पले कुन समयको घटनालाई संकेत गरेका हुन् भन्ने स्पष्ट नखुलाए पनि उनले आफ्नो व्यापारिक नीतिको दबाबलाई नै युद्ध रोक्ने प्रमुख अस्त्रका रूपमा प्रस्तुत गरेका छन् । उनले पटक–पटक आफू शक्तिमा रहेकै कारण विश्वका धेरै द्वन्द्वहरू साम्य भएको दाबी गर्दै आएका छन् ।