• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

दोहोरो ‘सुपर ओभर’को रोमाञ्चकता : दक्षिण अफ्रिकासँग अफगानिस्तान स्तब्ध

टी-२० विश्वकपको एक अत्यन्तै रोमाञ्चक खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई पराजित गरेको छ। खेलको निर्णय दोस्रो सुपर ओभरबाट मात्र सम्भव भएको थियो। निर्धारित २० ओभरको खेल र त्यसपछिको पहिलो सुपर ओभर पनि बराबरी (टाई) भएपछि नतिजाका लागि दोस्रो सुपर ओभर खेल्नुपरेको थियो।

खेलमा पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ६ विकेटको क्षतिमा १८७ रन बनाएको थियो। १८८ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले २० ओभर सकिन दुई बल बाँकी छँदा ठ्याक्कै १८७ रनमै आफ्ना सबै विकेट गुमायो। दुवै टोलीको स्कोर बराबर भएपछि खेल सुपर ओभरमा प्रवेश गरेको थियो।

पहिलो सुपर ओभरमा पहिले ब्याटिङ गर्दै अफगानिस्तानले १७ रन जोड्यो। १८ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले पनि ६ बलमा १७ रन नै बनाएपछि यो ओभर पनि बराबरीमा सकियो र खेल दोस्रो सुपर ओभरमा पुग्यो।

दोस्रो सुपर ओभरमा भने दक्षिण अफ्रिका अफगानिस्तानमाथि भारी पर्‍यो। पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २३ रनको विशाल स्कोर खडा गर्‍यो। टोलीका लागि ट्रिस्टन स्टब्स र डेभिड मिलर ब्याटिङमा आएका थिए। मिलरले मात्र चार बलमा दुई छक्काको मद्दतले १६ रन बनाए भने स्टब्सले ७ रन जोडे।

२४ रनको कठिन लक्ष्य पछ्याउन मैदान उत्रिएका अफगानिस्तानका रहमानउल्लाह गुरबाज र अजमतउल्लाह ओमरजाईले ६ बलमा १९ रन मात्र बनाउन सके। यसरी दक्षिण अफ्रिकाले दोस्रो सुपर ओभरमा ४ रनको जित निकाल्दै रोमाञ्चक सफलता हात पार्‍यो।