काठमाडौं । बंगलादेशमा सम्पन्न निर्वाचनमा बंगलादेश न्याश्नलिस्ट पार्टी (बीएनपी) ले आफ्नो नेृत्वमा सरकार गठन गर्न पुग्ने गरी स्पष्ट बहुमत हात पारेको छ।
संसद्का ३०० सीटका लागि भएको मतदानमा बीएनपीले १५१ स्थानमा जित हासिल गरिसकेको छ। यो विजयले पूर्वराष्ट्रपति जियाउर रहमान र पूर्वप्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमानलाई प्रधानमन्त्री बन्ने बाटो खोलिदिएको छ।
पूर्वप्रधानमन्त्री शेख हसिनाको दल अवामी लिग चुनावमा सहभागी नभएको अवस्थामा बीएनपीका नेता तारिक रहमान बंगलादेशको आगामी प्रधानमन्त्री बन्ने निश्चित भएको हो ।
तारिक रहमानका लागि यो जित एक असाधारण पुनरागमन हो। सन् २०२४ को सुरुवातसम्मको अवस्थालाई हेर्ने हो भने उनी लामो समयदेखि लन्डनमा स्वैच्छिक निर्वासनमा थिए।
त्यस समयमा शेख हसिनाको सरकारले बीएनपीका हजारौँ नेता तथा कार्यकर्ताहरूलाई जेल हालेको थियो भने पार्टीले निर्वाचन नै बहिष्कार गरेको थियो। तर, केही महिनाअघि बङ्गलादेशका युवा र विद्यार्थीहरूले सुरु गरेको विद्यार्थी विद्रोहले वर्षौंदेखिको शेख हसिनाको अधिनायकवादी शासनलाई उखेलेर फालिदिएपछि रहमानको राजनीतिक भाग्यले नयाँ मोड लिएको हो।
तारिक रहमान बंगलादेशका पूर्व राष्ट्रपति जियाउर रहमान (बीएनपीका संस्थापक) र पूर्व प्रधानमन्त्री खालेदा जियाका जेठा छोरा हुन्। उनको जन्म २० नोभेम्बर १९६५ मा भएको थियो। पारिवारिक विरासतका कारण उनी सानैदेखि राजनीतिसँग परिचित थिए। सन् १९९१ को चुनावमा आमा खालेदा जियालाई पाँचवटा निर्वाचन क्षेत्रमा सघाएर उनले आफ्नो राजनीतिक यात्रा सुरु गरेका थिए।
सन् २००१ देखि २००६ सम्म बीएनपीको शासनकालमा तारिक रहमानको शक्ति उत्कर्षमा थियो। त्यतिबेला बीएनपीको चुनावी कार्यालय ‘हवा भवन’ शक्तिको समानान्तर केन्द्र बनेको आरोप लाग्ने गर्थ्यो। विरोधीहरूले उनलाई ‘पर्दा पछाडिको शासक’ र भ्रष्टाचारको मुख्य पात्रका रूपमा चित्रण गर्थे। तर, बीएनपीले यी आरोपहरूलाई सधैँ अवामी लिगको ‘दुष्प्रचार’ भन्दै खारेज गर्दै आएको छ।
सन् २००७ मा सेनाको समर्थन रहेको अन्तरिम सरकारले तारिकलाई भ्रष्टाचारको आरोपमा पक्राउ गर्यो। करिब १८ महिना जेल बसेपछि उपचारका लागि उनी सन् २००८ मा लन्डन गए। लन्डनमा रहँदै गर्दा बंगलादेशको अदालतले उनलाई सन् २००४ को ग्रेनेड आक्रमण र भ्रष्टाचारका मुद्दामा जन्मकैद र अन्य सजाय सुनायो।
त्यही समयमा उनले लन्डनमा राजनीतिक शरण लिए र त्यहीँबाट प्रविधिको प्रयोग गरी बंगलादेशमा आफ्नो पार्टीलाई एकजुट राखिरहे।
आफ्नी आमा खालेदा जियाको स्वास्थ्य गम्भीर भएपछि तारिक २६ डिसेम्बर २०२४ मा १७ वर्षपछि ढाका फर्किए। फर्किएको केही दिनमै ३० डिसेम्बरमा खालेदा जियाको निधन भयो। आमाको निधन भएको १० दिनपछि ९ जनवरीमा उनी औपचारिक रूपमा बीएनपीको अध्यक्ष चुनिए। अवामी लिगमाथि प्रतिबन्ध लागेपछि अहिले उनी एक्लो शक्तिशाली नेताका रूपमा उभिएका छन्।
अवामी लिग चुनावी मैदानमा नभएपछि अहिले बीएनपीको मुख्य प्रतिद्वन्द्वीका रूपमा उसकै पूर्व सहयोगी ‘जमात–ए–इस्लामी’ उभिएको छ। तारिक रहमानका सामु अब दुईवटा ठूला चुनौती छन्:
पहिलो: जमातको बढ्दो प्रभावलाई रोक्दै आफूलाई ‘उदार लोकतन्त्रवादी’ नेताका रूपमा स्थापित गर्नु।
दोस्रो: विगतमा लागेका भ्रष्टाचार र हिंसाका आरोपहरूलाई पखालेर जनतामा नयाँ विश्वास जगाउनु।
तारिकको शैक्षिक योग्यतालाई लिएर बंगलादेशमा सधैँ बहस हुने गर्छ। उनले ढाका विश्वविद्यालयमा भर्ना भए पनि पढाइ पूरा गरे/नगरेको स्पष्ट छैन। चुनावी हलफनामामा उनले आफ्नो योग्यता ‘उच्च माध्यमिक’ (१२ कक्षा) मात्र उल्लेख गरेका छन्। यस्तै, उनको जन्म वर्ष कतै १९६५ त कतै १९६८ उल्लेख भएको पाइएको छ।
शेख हसिनाले भनिन्– चुनाव फर्जी र असंवैधानिक
जुलाई २०२४ मा भएको विद्यार्थी विद्रोहपछि बंगलादेशमा भएको यो पहिलो राष्ट्रिय चुनाव हो । हिंसात्मक आन्दोलन थेग्न नसकेपछि देश छाडेर भारत गएकी तत्कालीन प्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगलाई प्रतिबन्ध लगाइएकाले उक्त पार्टीले भने चुनावमा भाग लिन पाएन ।
हाल भारतमा निर्वासन जीवन बिताइरहेकी बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले यस चुनावलाई पूर्णरूपमा फर्जी र असंवैधानिक भनेकी छन् । अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले गैरकानुनी र असंवैधानिक ढंगले सत्ता कब्जा गरेर त्यही आधारमा चुनाव गराएको उनको आरोप छ ।