श्रीलंकाको कोलम्बोस्थित प्रेमदासा स्टेडियममा जारी टी-२० विश्वकपमा जिम्बाब्वेले अस्ट्रेलियालाई २३ रनले पराजित गरेको छ।
जिम्बाब्वेले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा मात्र २ विकेट गुमाएर १६९ रनको सम्मानजनक योगफल तयार पारेको थियो। १७० रनको लक्ष्य पछ्याएको बलियो अस्ट्रेलियाली टोली जिम्बाब्वेको कसिलो बलिङसामु टिक्न सकेन र १९.३ ओभरमा १४६ रनमै अलआउट भयो।
जिम्बाब्वेको यो ऐतिहासिक जितका मुख्य नायक २९ वर्षीय तीब्र गतिका बलर ब्लेसिङ मुजरबानी रहे। उनले आफ्नो ४ ओभरको स्पेलमा मात्र १७ रन खर्चेर ४ महत्त्वपूर्ण विकेट लिए। उनले अस्ट्रेलियाका शीर्ष ब्याटरहरूलाई पवेलियन फर्काउँदै खेल जिम्बाब्वेको पोल्टामा पारेका थिए।
को हुन् मुजरबानी?
उचाइ: ६ फिट ८ इन्च (उनी दक्षिण अफ्रिकाका चर्चित पूर्व बलर मोर्ने मोर्केलभन्दा पनि अग्ला छन्)।
डेब्यु: सन् २०१८ मा टी-२० अन्तर्राष्ट्रियमा डेब्यु।
रेकर्ड: अहिलेसम्म ८४ टी-२० अन्तर्राष्ट्रिय खेलमा ९५ विकेट लिइसकेका छन्। उनको इकोनोमी रेट ७.१४ मात्र रहेको छ, जुन टी-२० क्रिकेटमा उत्कृष्ट मानिन्छ।

टी-२० मा मात्र नभई मुजरबानीले पछिल्लो समय टेस्ट क्रिकेटमा पनि सानदार प्रदर्शन गरिरहेका छन्। सन् २०२५ मा उनी टेस्ट क्रिकेटमा विश्वकै तेस्रो धेरै विकेट लिने बलर बनेका थिए। उनले १० टेस्ट खेलमा ४२ विकेट लिएका थिए, जसमा एकै इनिङमा ५८ रन दिएर ७ विकेट लिनु उनको उत्कृष्ट प्रदर्शन हो।
मुजरबानीले विभिन्न अन्तर्राष्ट्रिय लिगहरूमा पनि आफ्नो प्रभाव छाडेका छन्। सन् २०२१ मा पाकिस्तान सुपर लिगमा मुल्तान सुल्तानलाई च्याम्पियन बनाउन उनले ६ खेलमा १० विकेट लिँदै महत्वपूर्ण भूमिका खेलेका थिए। त्यस्तै, सन् २०२२ को आईपीएलमा उनलाई लखनउ सुपर जायन्ट्सले नेट बलरका रूपमा समावेश गरेको थियो, यद्यपि उनले अहिलेसम्म आईपीएलमा डेब्यु गर्ने मौका भने पाएका छैनन्।
अस्ट्रेलिया जस्तो बलियो टोलीलाई विश्वकपको मञ्चमा पराजित गरेपछि अहिले मुजरबानी र जिम्बाब्वेको टोलीको विश्वभर चर्चा भइरहेको छ।