गत जुलाई २०२४ मा बङ्गलादेशमा युवा विद्यार्थी र परिवर्तनकारी सामाजिक शक्तिहरूको अगुवाईमा भएको जेन्जी आन्दोलनले देशको राजनीतिक परिप्रेक्ष्यमा महत्वपूर्ण मोड ल्यायो। लामो समयदेखि सत्ता संरचनामा व्याप्त भ्रष्टाचार, पारिवारिक आरक्षण, अनियमितता, र राजनीतिक प्रतिशोधले प्रशासनिक प्रणाली मात्र नभई जनताको विश्वासमा पनि गहिरो क्षति पुर्याइरहेको अवस्थामा यस आन्दोलनले जनताको हित, राष्ट्रिय विकास, र सुशासन नै पहिलो प्राथमिकता हुनुपर्छ भन्ने प्रष्ट सन्देश दिएको थियो। यो आन्दोलन केवल प्रतिरोध मात्रै थिएन; यो भविष्यका लागि चेतना जागृत गर्ने र लोकतान्त्रिक प्रक्रियामा सक्रिय सहभागिताको उदाहरण पनि थियो।
जेन्जी आन्दोलनपछि गठन भएको अन्तरिम सरकारले बङ्गलादेशमा लोकतान्त्रिक प्रक्रिया सुनिश्चित गर्ने दिशामा ठोस कदम चाल्यो। देशको राजनीतिक वातावरण शान्तिपूर्ण, निष्पक्ष र पारदर्शी निर्वाचनको लागि तयार पार्न यो सरकारको भूमिका निर्णायक थियो। यस तयारीको नतिजा फेब्रवरी १२, २०२६ मा भएको आम निर्वाचनमा बङ्गलादेश नेश्नल पार्टी (बी.एन.पी.)ले भारी बहुमतका साथ विजय हासिल गरी स्पष्ट देखिएको छ। यस विजयलाई केवल चुनावी नतिजा मात्र नभई गत जुलाईको आन्दोलनको अप्रत्यक्ष समर्थनका रूपमा पनि व्याख्या गर्न सकिन्छ। यसले देखाउँछ कि जब जनताले परिवर्तनको पक्षमा सक्रिय भूमिका खेल्छन्, तब राजनीतिक प्रणालीमा वास्तविक सुधार सम्भव हुन्छ।
बी.एन.पी.को एजेण्डा धेरै दृष्टिकोणले महत्वपूर्ण छ। विगत लगभग दुई दशकदेखि अवामी लिगको नेतृत्वमा रहेको सरकारले सरकारी क्षेत्रभित्र पारिवारिक आरक्षण र अनियमित व्यवस्थालाई प्रोत्साहित गर्दै प्रशासनिक क्षमता कमजोर पारेको थियो। यसको परिणामस्वरूप, विकास परियोजनाहरू प्रभावित भएका, सामाजिक न्यायमा अवरोध आएको र प्रशासनिक निर्णयमा निष्पक्षता घटेको थियो। साथै तत्कालीन सरकारले विपक्षी दलहरू माथि राजनीतिक प्रतिशोध साध्यै झुटा मुद्दा लगाएर राष्ट्र र जनताको हितमा काम गर्न चाहने नेताहरू माथि शक्तिको दुरुपयोग गरेको थियो। बी.एन.पी.ले यस प्रणालीको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ, जसले जनतालाई विश्वास दिलाएको छ कि अब नीति निर्माण र प्रशासनिक निर्णयहरू केवल पारिवारिक स्वार्थ वा राजनीतिक दबाबमा आधारित नहुनेछन्।
राजनीतिक विश्लेषणको दृष्टिले, बी.एन.पी.को विजयले धेरै महत्त्वपूर्ण सन्देश पठाएको छ। पहिलो, यो जनताको विवेकशील मतदान र सामाजिक सक्रियताको शक्तिको प्रमाण हो। केवल आन्दोलन वा विरोध पर्याप्त छैन; यसको प्रभाव स्थायी बनाउन जनताले लोकतान्त्रिक प्रक्रियामा सक्रिय रूपमा भाग लिनुपर्छ। दोस्रो, यो परिणाम देखाउँछ कि लोकतान्त्रिक प्रणालीले जब जनतालाई वास्तविक विकल्प र स्वतन्त्र निर्णयको अवसर दिन्छ, तब मात्र दीर्घकालीन स्थिरता, सुशासन र विकास सुनिश्चित गर्न सकिन्छ।
सामाजिक परिप्रेक्ष्यमा हेर्दा, बी.एन.पी.को विजयले युवा शक्ति र नागरिक चेतनाको महत्त्वलाई पुष्टि गरेको छ। बङ्गलादेशको समाजमा विगतमा देखिएका असमानता, पारिवारिक भेदभाव र राजनीतिक प्रतिशोधले सामाजिक विभाजन बढाएको थियो। तर आन्दोलन र चुनावी प्रक्रियाबाट देखिएको जनताको सक्रिय सहभागिताले स्पष्ट पारेको छ कि वास्तविक परिवर्तनको लागि नागरिकको चेतना र सामाजिक जिम्मेवारी अपरिहार्य छ।
आर्थिक दृष्टिकोणले पनि बी.एन.पी.को एजेण्डा महत्वपूर्ण छ। भ्रष्टाचार र अनियमितताबाट मुक्त प्रशासनले लगानी, उद्योग, व्यापार, र रोजगारीमा विश्वास जगाउन सक्छ। जब नीति निर्माण पारदर्शी, निष्पक्ष, र दीर्घकालीन विकासमूलक हुन्छ, तब मात्र अर्थतन्त्र स्थिरता र समृद्धितर्फ अघि बढ्छ। बङ्गलादेशमा अब नीति सुधार, सार्वजनिक सेवा सुधार, र आर्थिक विकास परियोजनाहरूलाई प्राथमिकता दिइने अपेक्षा गरिएको छ। यसले समाजका विभिन्न तहमा रोजगारी सृजना गर्ने, औद्योगिक उत्पादन बढाउने र समग्र आर्थिक वृद्धिलाई गति दिनेछ।
बी.एन.पी.को विजयको अर्को महत्वपूर्ण पक्ष भनेको राजनीतिक स्थायित्वमा देखिन्छ। विगतमा अवामी लिगको लामो सत्ताकालमा राजनीतिक प्रतिशोध, विरोधमाथि दमन र असहमतिलाई दबाउने प्रवृत्ति व्यापक थियो। बी.एन.पी.को नेतृत्वमा अब अपेक्षा गरिएको छ कि राजनीतिक बहस, विरोधको आवाज, र लोकतान्त्रिक प्रक्रियामा सहभागिता सम्मानित हुनेछ। यसले केवल आन्तरिक स्थायित्व मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा पनि सकारात्मक संदेश पठाउनेछ।
नेपालको सन्दर्भमा, बङ्गलादेशको अनुभव अत्यन्तै सान्दर्भिक छ। नेपालमा भदौ २३ र २४ गते सम्पन्न जेन्जी आन्दोलनले पनि भ्रष्टाचार, नातावाद, कृपावाद र अनियमितताका विरुद्ध चेतना जागृत गरेको थियो। देशको लोकतान्त्रिक संरचनामा दीर्घकालीन सुधारको आवश्यकता स्पष्ट छ। आगामी प्रतिनिधि सभा निर्वाचनले जनतालाई आफ्नो विवेकपूर्ण मतदानको अवसर प्रदान गर्दै सुशासन र समृद्धिको पक्षमा नयाँ नेतृत्व चयन गर्न सक्ने वातावरण बनाएको छ।
नेपालका लागि सबभन्दा महत्त्वपूर्ण चुनौती भनेको केवल चुनावी प्रक्रिया मात्र होइन, त्यसको पश्चात नीति र प्रशासनिक सुधारमा निरन्तरता सुनिश्चित गर्नु हो। बङ्गलादेशले देखाएको छ कि परिवर्तनको मागलाई केवल आन्दोलनमा सीमित राख्नु पर्याप्त छैन; यसलाई लोकतान्त्रिक प्रक्रियामा लागू गरेर कार्यान्वयन गर्नु आवश्यक छ। जनताको सक्रिय सहभागिता, पारदर्शी नीति निर्माण, भ्रष्टाचार निवारण र न्यायिक स्वतन्त्रता सुनिश्चित गर्नु महत्त्वपूर्ण छ।
सामाजिक न्यायको दृष्टिले हेर्दा, विगतमा नेपालको समाजमा नातावाद, कृपावाद, र असमान अवसरले विभाजन सिर्जना गरेको थियो। बङ्गलादेशको उदाहरणले देखाउँछ कि जब नीति र प्रशासनिक निर्णयहरू पारदर्शी, निष्पक्ष र जनमुखी हुन्छन्, तब सामाजिक समानता र न्याय सुनिश्चित गर्न सकिन्छ। यसले लोकतान्त्रिक प्रणाली केवल संरचनात्मक व्यवस्था मात्र नभई जनताको वास्तविक हित सुनिश्चित गर्ने प्रणाली बन्न सक्ने क्षमता देखाउँछ।
राजनीतिक नेतृत्वको गुणस्तर पनि सुशासन र समृद्धिका लागि निर्णायक हुन्छ। बङ्गलादेशमा बी.एन.पी.ले जनताको अपेक्षालाई केन्द्रमा राख्दै नेतृत्व प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेको छ। यसले नीति निर्माण, प्रशासनिक सुधार, न्यायिक स्वतन्त्रता, र सामाजिक विकास सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्नेछ। नेपालमा आगामी निर्वाचनले पनि नेतृत्व छनोटको महत्त्वलाई प्रस्ट पार्नेछ, जसले राष्ट्रको दीर्घकालीन भविष्य र विकासको दिशा निर्धारण गर्नेछ।
निष्कर्षमा, बङ्गलादेशमा जेन्जी आन्दोलनपछि सम्पन्न चुनाव र बी.एन.पी.को विजयले देखाएको छ कि लोकतन्त्र केवल संरचना र प्रक्रिया मात्र होइन; जनताको सक्रिय सहभागिता, सामाजिक चेतना र विवेकपूर्ण मतदानमा आधारित हुनुपर्छ। भ्रष्टाचार, दुरुपयोग, पारिवारिक आरक्षण र अन्यायको अन्त्य गर्दै सुशासन र समृद्धि सुनिश्चित गर्न जनताको सक्रिय भूमिका अपरिहार्य छ।
नेपालमा आगामी निर्वाचनले यही सम्भावना प्रस्तुत गर्दछ। यदि जनताले सुशासन र समृद्धिको पक्षमा समर्पित, पारदर्शी, र विकासमुखी उम्मेदवारलाई समर्थन गर्छन् भने दीर्घकालीन राजनीतिक स्थायित्व, प्रशासनिक सुधार, सामाजिक न्याय, र आर्थिक समृद्धि सुनिश्चित गर्न सकिन्छ। बङ्गलादेशको उदाहरणले देखाएको छ कि परिवर्तन केवल आन्दोलन र नारामा सीमित रहनु हुँदैन; यसलाई कार्यान्वयन योग्य नेतृत्व र नीतिसँग जोड्नु अपरिहार्य छ।
अन्ततः, बङ्गलादेशको चुनावी विजय र नेपालमा सम्भावित राजनीतिक परिवर्तनले स्पष्ट संकेत दिन्छ कि लोकतन्त्र जनताको अधिकार, सामाजिक उत्तरदायित्व, र चेतनामा आधारित हुन्छ। भ्रष्टाचार, दुरुपयोग, पारिवारिक भेदभाव र अन्यायको अन्त्य गर्दै सुशासन र समृद्धि सुनिश्चित गर्ने मार्ग खुला छ। आगामी निर्वाचनले यही दिशा पुष्टि गर्नेछ र नेपालको लोकतान्त्रिक प्रणालीलाई थप बलियो, पारदर्शी र विकासमुखी बनाउनेछ।
✍️ लेखक चन्द्र सिंह धामी सुदूरपश्चिम विश्वविद्यालय दार्चुला बहुमुखी क्याम्पसका सहायक प्राध्यापक हुन्।