• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

भारतले पशुपतिनाथ–वैद्यनाथ ‘हाई-स्पीड एक्सप्रेस-वे’ बनाउने, यस्तो हुनेछ कोरिडोरको मार्ग

काठमाडौं । बिहारमा सडक पूर्वाधारको सञ्जाल तीव्र गतिमा विस्तार भइरहेको छ। आगामी आर्थिक वर्षको बजेटमा बिहार सरकारको सडक निर्माण विभागलाई ८ हजार करोड भारतीय रुपैयाँभन्दा बढीको बजेट विनियोजन गरिएको छ। यस अन्तर्गत नेपालदेखि भारतको झारखण्डसम्म ‘ग्रीन कोरिडोर’ निर्माण गर्ने लगायतका महत्त्वपूर्ण सडक परियोजनाहरू प्रस्ताव गरिएको छ।

बिहारका सडक निर्माण मन्त्री डा. दिलीप जैसवालले गएको मंगलबार विधानसभामा जानकारी दिए अनुसार, नेपालको पशुपतिनाथ मन्दिरलाई झारखण्डको प्रसिद्ध वैद्यनाथधामसँग जोड्न ‘पशुपतिनाथ–वैद्यनाथधाम हाई-स्पीड कोरिडोर’ (ग्रीनफिल्ड एक्सप्रेस-वे) निर्माण गरिनेछ।

मन्त्री जैसवालका अनुसार, प्रस्तावित २५० किलोमिटर लामो यो एक्सप्रेस-वे काठमाडौंबाट सुरु हुनेछ। नेपालको भीमनगर र वीरपुर हुँदै यो सडक बिहारको सुपौल जिल्लाबाट भारत प्रवेश गर्नेछ। त्यसपछि मधेपुरा, सहरसा, खगडिया, मुंगेर र बाँका जिल्ला हुँदै झारखण्डको देवघर (वैद्यनाथधाम) पुग्नेछ।

यस परियोजनाको मुख्य उद्देश्य नेपालको पशुपतिनाथ र झारखण्डको वैद्यनाथधामलाई सिधा सडक सञ्जालले जोडेर धार्मिक पर्यटनलाई बढावा दिनु र सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउनु हो। यस कोरिडोरले बिहार र झारखण्डका विभिन्न जिल्लाहरूमा आर्थिक गतिविधि बढाउनुका साथै क्षेत्रीय सम्पर्कलाई मजबुत बनाउने अपेक्षा गरिएको छ।

प्रस्तावित एक्सप्रेस-वेलाई रक्सौल–हल्दिया र दरभंगा–अमस जस्ता अन्य प्रमुख मार्गहरूसँग पनि जोडिनेछ, जसले पूर्वी भारतमा यातायातको सशक्त नेटवर्क तयार गर्नेछ।

भारत-नेपाल सीमा सडक परियोजना अन्तर्गत बिहारको सीमावर्ती क्षेत्रमा ५५४.०८ किलोमिटर लामो सडक निर्माण भइरहेको छ। यो सडक बिहारका सात जिल्लाहरू, पश्चिम चम्पारण, पूर्वी चम्पारण, सीतामढी, मधुबनी, सुपौल, अररिया र किशनगञ्ज भएर जानेछ। यो मार्ग पश्चिम चम्पारणको मदनपुरबाट सुरु भई किशनगञ्जको गलगलियामा टुङ्गिनेछ।