• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

दुई समुदायबीच भएको झडपले उग्र रूप लिएपछि रौतहटमा कर्फ्यू

रौतहट । जिल्ला प्रशासन कार्यालय रौतहटले सदरमुकाम गौरमा कर्फ्यु आदेश जारी गरेको छ। जिल्ला सुरक्षा समिति रौतहटको निर्णयअनुसार शनिबार दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्म गौर नगरपालिकाको विभिन्न क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको हो ।

कर्फ्यु आदेश जारी भएका क्षेत्रमा कुनै व्यक्ति आवत–जावत गर्न, भेला गर्न, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

पूर्वमा मुडवलवा गेट, पश्चिमतर्फ ललवैया बाँध, उत्तरमा बम नहर र दक्षिणतर्फ गौर भन्सार कार्यालय गेटसम्म कर्फ्यु आदेश जारी गरिएको छ । कर्फ्यु आदेशको उल्लङ्घन गर्नेलाई कानुन बमोजिम कारबाही गरिने सिडियो दिनेश सागर भुसालद्वारा जारी सूचनामा उल्लेख गरिएको छ।

गौर नगरपालिका–६ सवगढामा सहमतिविपरीत पुनः दुई समुदायबिच झडप भई अवस्था तनावग्रस्त बनेको हो। जिल्ला प्रशासन कार्यालयको पहलमा शुक्रबार साँझ दुवै पक्षबीच ६ बुँदे सहमति भए पनि शनिबार बिहान करिब ९ बजेदेखि ढुङ्गा–मुढा सुरु भएको थियो।

एक विवाह कार्यक्रममा बजाइएको बाजागाजालाई लिएर विवाद सुरु भएको थियो। गत ७ गते राति हिन्दू समुदायको विवाहमा बाजागाजा बजाइएको विषयलाई लिएर मुस्लिम समुदायसँग विवाद सुरु भएको बताइएको छ। मस्जिदमा रात्री प्रार्थना भइरहेको समयमा बाजा बजाइएको भन्दै दुवै पक्षबीच भनाभन बढ्दै गएपछि केही व्यक्तिमाथि कुटपिट भएको थियो।

घटनापछि शुक्रबार बिहान पुनः दुवै समूहबीच ढुंगामुढा भएको र त्यसपछि स्थिति थप तनावग्रस्त बनेको प्रशासनले जनाएको छ। त्यसयता स्थिति तनावग्रस्त बन्दै गएको छ।

झडप चर्किँदै गएपछि स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका सयौँ सुरक्षाकर्मी परिचालन गरिएको छ।