काठमाडौँ । पाकिस्तानले अफगानिस्तानको सीमावर्ती क्षेत्रमा पुनः हवाई आक्रमण गरेको छ। आइतबार बिहान सबेरै गरिएका यी आक्रमणहरूमा महिला र बालबालिकासहित दर्जनौं नागरिक मारिएको दाबी गरिएको छ। यस घटनापछि अफगानिस्तानको तालिबान सरकारले कडा आपत्ति जनाउँदै ‘उचित समयमा जवाफ दिने’ चेतावनी दिएको छ।
तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदका अनुसार पाकिस्तानी सेनाले नान्गरहार र पक्तिका प्रान्तका नागरिक बस्तीहरूलाई निशाना बनाएको छ। नान्गरहारमा एउटा घरमा भएको आक्रमणमा २० जनाको मृत्यु भएको दाबी गरिएको छ भने पक्तिका प्रान्तको बरमल जिल्लामा एउटा मदरसा (धार्मिक विद्यालय) मा बमबारी गरिएको छ। मुजाहिदले पाकिस्तानी जनरलहरूले आफ्नो देशको सुरक्षा कमजोरी लुकाउन निर्दोष नागरिकमाथि हमला गरिरहेको आरोप लगाएका छन्।
अफगानिस्तानको रक्षा मन्त्रालयले यसलाई राष्ट्रिय सम्प्रभुताको घोर उल्लंघन र अन्तर्राष्ट्रिय कानुनको विपरीत कार्य भनेको छ। मन्त्रालयका प्रवक्ता इनायतुल्लाह ख्वारिज्मीले देशको रक्षा गर्नु आफ्नो दायित्व भएको बताउँदै पाकिस्तानी कृत्यको योजनाबद्ध रूपमा प्रतिकार गर्ने चेतावनी दिएका छन्।
अर्कोतर्फ, पाकिस्तानले गुप्तचर सूचनाका आधारमा ‘सातवटा आतंककारी ठेगाना र शिविर’ मा आक्रमण गरिएको दाबी गरेको छ। पाकिस्तानको सूचना तथा प्रसारण मन्त्रालयका अनुसार यो कारबाही विशेष गरी ‘फितना अल–ख्वारिज’ (तहरीक–ए–तालिबान पाकिस्तान – टीटीपी) र ‘इस्लामिक स्टेट खोरासान प्रान्त’ (आईएसकेपी) लक्षित थियो।
पाकिस्तानले पछिल्लो समय आफ्नो देशमा भएका आत्मघाती हमलाहरू अफगानिस्तानमा रहेका कमाण्डरहरूको निर्देशनमा भएको पुख्ता प्रमाण आफूसँग रहेको बताएको छ। इस्लामाबादले पटक-पटक माग गर्दा पनि तालिबान सरकारले आतंककारी समूहहरू विरुद्ध ठोस कदम नचालेकाले आफूहरू कारबाही गर्न बाध्य भएको उल्लेख गरेको छ। पाकिस्तानले आफ्नो भूमि विरुद्ध अफगान जमिन प्रयोग हुन नदिन तालिबानसँग पुनः माग गरेको छ।
सन् २०२१ मा तालिबानले काबुल कब्जा गरेपछि दुई देशबीचको सम्बन्धमा उतारचढाव आइरहेको छ। पाकिस्तानले टीटीपीका लडाकुहरूलाई अफगानिस्तानले शरण दिएको आरोप लगाउँदै आएको छ भने तालिबानले यसलाई अस्वीकार गर्दै यो पाकिस्तानको आन्तरिक समस्या भएको बताउँदै आएको छ।
पछिल्लो हवाई आक्रमणले दुई देशबीचको कूटनीतिक र सैन्य तनावलाई थप उत्कर्षमा पुर्याएको छ। यसअघि पनि सीमा क्षेत्रमा भएका झडपका कारण दुवै देशका सुरक्षाकर्मी र सर्वसाधारणले ज्यान गुमाइसकेका छन्।