• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

चन्द्रमामा सहर बनाउने एलन मस्कको योजना, के यो सम्भव छ ?

काठमाडौं । विश्वकै धनी व्यक्ति तथा स्पेसएक्सका प्रमुख एलन मस्कले आगामी १० वर्षभित्र चन्द्रमामा ‘सेल्फ ग्रोइङ सिटी’ (आफैं विस्तार हुने सहर) निर्माण गर्ने योजना सार्वजनिक गरेका छन्। सामाजिक सञ्जाल ‘एक्स’मा एक पोस्ट गर्दै मस्कले स्पेसएक्सको ध्यान अब मंगल ग्रहमा भवन बनाउनुको साटो चन्द्रमामा केन्द्रित भएको बताएका छन्।

मस्कको यो पोस्टलाई हालसम्म ४ करोडभन्दा बढी पटक हेरिसकिएको छ। उनले मंगल ग्रहलाई मुख्य गन्तव्य बनाउँदै आएको आफ्नो पुरानो अडानलाई परिवर्तन गर्दै अहिले चन्द्रमालाई प्राथमिकता दिएका हुन्।

मंगल ग्रह छाडेर चन्द्रमा नै किन ?

मस्कका अनुसार चन्द्रमामा सहर बसाउने योजना मंगल ग्रहको तुलनामा धेरै छिटो र सहज छ। उनले यसका केही प्रमुख कारणहरू दिएका छन्–
१, समय र दूरीः पृथ्वीबाट चन्द्रमा पुग्न मात्र २ दिन लाग्छ, जबकि मंगल ग्रह पुग्न कम्तीमा ६ महिना लाग्छ।

२, प्रक्षेपणको अवसरः मंगल ग्रहमा जानका लागि ग्रहहरू एकै रेखामा आउनुपर्छ, जुन २६ महिनामा एक पटक मात्र सम्भव हुन्छ। तर, चन्द्रमाका लागि हरेक १० दिनमा रकेट प्रक्षेपण गर्न सकिन्छ।

३, छिटो उपलब्धिः मस्कका अनुसार चन्द्रमामा १० वर्षभित्रै मानव बस्ती बसाउन सकिन्छ, जबकि मंगल ग्रहका लागि २० वर्षभन्दा बढी समय लाग्न सक्छ।

मस्कले भनेका छन्, ‘हाम्रो मिसन एउटै हो– जीवन र चेतनालाई ताराहरूसम्म फैलाउनु। तर, सभ्यताको भविष्य सुरक्षित गर्न चन्द्रमामा पहिले बस्ती बसाउनु बढी व्यावहारिक देखिन्छ।’

के यो सम्भव छ ?

बेलायतको सरे विश्वविद्यालयका डा. सुङ्गवु लिम मस्कको यो योजनालाई ‘साइन्स फिक्सन’ (विज्ञान कथा) नभई महत्वाकांक्षी ठान्छन्। उनले बीबीसीसँग भनेका छन्, ‘चन्द्रमाको माटो प्रयोग गरेर अक्सिजन, पानी र निर्माण सामग्री बनाउने कुरा सैद्धान्तिक रूपमा सम्भव छ।’

यद्यपि, उनले चन्द्रमाको कठोर वातावरण, अत्यधिक तापक्रम र धुलो जस्ता चुनौतीहरू औंल्याएका छन्। पृथ्वीबाट पोषक तत्व नलिई चन्द्रमामै खाना उब्जाउनु र पूर्ण रूपमा रिसाइकल हुने प्रणाली बनाउन अझै दशकौं लाग्न सक्ने विशेषज्ञहरूको भनाइ छ।

अमेरिकाको एमआइटिका प्राध्यापक जेफ्री हफम्यानका अनुसार यदि स्पेसएक्स र जेफ बेजोसको ‘ब्लु ओरिजिन’ले सफलतापूर्वक लुनर ल्यान्डरहरू (चन्द्रमामा ओर्लने जहाज) बनाए भने चन्द्रमामा आधार शिविर (बेस) बनाउन आवश्यक सामान ओसारपसार गर्न सजिलो हुनेछ।

बढ्दो प्रतिस्पर्धा र व्यापारिक रणनीति

मस्कको यो घोषणा यस्तो समयमा आएको छ, जब अमेरिका र चीनबीच चन्द्रमामा मानव पठाउने होडबाजी चलिरहेको छ। सन् १९७२ को ‘अपोलो १७’ मिसनपछि चन्द्रमाको सतहमा कुनै पनि मानिसले पाइला टेकेका छैनन्।

यसका साथै, मस्कले स्पेसएक्सलाई शेयर बजारमा सूचीकृत गर्ने तयारी गरिरहेका छन्। यो योजना सफल भएमा ५० अर्ब डलरसम्म पुँजी जुट्न सक्ने अनुमान गरिएको छ। मस्कले अन्तरिक्षमा एक लाख डेटा सेन्टरहरू राख्ने योजना पनि बनाएका छन्, जसले एआईको बढ्दो मागलाई सम्बोधन गर्नेछ।