काठमाडौं । इजरायलले इरानविरुद्ध सैन्य कारबाही सुरु गरेको छ। इजरायलले यसलाई ‘सतर्कताका लागि गरिएको हमला’ भनेको छ। आक्रमणको खबरसँगै इरानको राजधानी तेहरानका विभिन्न स्थानमा विस्फोटका आवाज सुनिएका छन्।
इजरायली रक्षामन्त्री इजरायल कात्सले एक विज्ञप्ति जारी गर्दै देशभर ‘विशेष र स्थायी आपतकालीन अवस्था’को घोषणा गरेका छन्। अधिकारीहरूका अनुसार इरानमाथि हमला सुरु गरेलगत्तै शनिबार इजरायली हवाई क्षेत्र नागरिक उडानका लागि पूर्ण रूपमा बन्द गरिएको छ।
इजरायली सेनाले सम्भावित जवाफी हमला र रकेट आक्रमणको जोखिमलाई मध्यनजर गर्दै देशभर हवाई आक्रमणको साइरन बजाएको छ र नागरिकहरूलाई सतर्क रहन आग्रह गरेको छ।
इरानको फार्स न्यूज एजेन्सीका अनुसार तेहरानको ‘डाउनटाउन’ क्षेत्रमा तीनवटा ठूला विस्फोटका आवाज सुनिएका छन्। हसन आबाद स्क्वायर नजिकै धुवाँको मुस्लो उडिरहेको देखिएको छ। प्रारम्भिक रिपोर्टहरूका अनुसार केही मिसाइलहरू दानेशगाह स्ट्रिट र जम्हूरी क्षेत्रमा खसेका छन्।
इजरायल डिफेन्स फोर्सेसले शनिबार बिहान ८ बजेदेखि लागू हुने गरी नयाँ ‘होम फ्रन्ट कमाण्ड’ निर्देशिका जारी गरेको छ। जसअनुसार, अत्यावश्यक सेवाबाहेक सबै गतिविधिमा रोक लगाइएको छ। शैक्षिक संस्थाहरू, कार्यस्थल र मानिसहरू भेला हुने सार्वजनिक स्थलहरू बन्द गरिएका छन्।
नागरिकहरूलाई आधिकारिक च्यानलहरूबाट प्राप्त निर्देशन मात्र पालना गर्न भनिएको छ।
इरानमा पर्सियन नयाँ वर्ष ‘नौरोज’ सुरु हुन लागेका बेला यो तनाव उत्पन्न भएको हो। यसअघि नै युद्धको आशंकाका कारण इरानी बजारहरूमा चहलपहल कम देखिएको थियो।