• २०८३ जेठ २०
  • 2026 June 03, Wednesday

इरानविरुद्ध इजरायल : सैन्य शक्तिमा को कति बलियो ?

इजरायलले इरानमाथि ‘सतर्कताका लागि गरिएको हमला’ सुरु गरेसँगै मध्यपूर्वमा तनाव उत्कर्षमा पुगेको छ। तेहरानका विभिन्न स्थानमा विस्फोटका आवाज सुनिएका छन् भने दुवै देशले आफ्नो हवाई क्षेत्र बन्द गरेका छन्। यस युद्धको छायाबीच दुई देशको वास्तविक सैन्य क्षमता कस्तो छ भन्ने चासो बढेको छ।

आर्थिक रूपमा इजरायलको रक्षा बजेट इरानको तुलनामा निकै बलियो छ।

इजरायलको वार्षिक बजेट करिब १९ अर्ब डलर छ। यो इरानको भन्दा झण्डै सात गुणा बढी हो। २०२२-२३ को तथ्याङ्क अनुसार इरानको वार्षिक रक्षा बजेट करिब ७.४ अर्ब डलर छ। कुल गार्हस्थ्य उत्पादनको तुलनामा पनि इजरायलले इरानको तुलनामा दोब्बर बढी रकम रक्षा क्षेत्रमा खर्च गर्छ।

आधुनिक लडाकु विमानको मामिलामा इजरायल धेरै अगाडि छ। इजरायलसँग ३४० अत्याधुनिक लडाकु विमानहरू छन्। यसमा राडारलाई छल्न सक्ने F-35 र लामो दुरीमा प्रहार गर्न सक्ने F-15 विमानहरू सामेल छन्।

इरानसँग करिब ३२० लडाकु विमान छन्। तर, यीमध्ये धेरैजसो १९६० को दशकका पुराना विमानहरू (F-4, F-5, F-14) हुन्। अन्तर्राष्ट्रिय प्रतिबन्धका कारण यी पुराना विमानका पार्टपूर्जाहरू पाउन कठिन हुने भएकाले ती सबै उडान योग्य छन् कि छैनन् भन्नेमा संशय छ।

इजरायलको सबैभन्दा ठूलो शक्ति उसको हवाई सुरक्षा कवच हो। आयरन डोम र ऐरो सिस्टम इजरायलको यो प्रणालीले इरानले प्रहार गरेका सयौँ मिसाइल र ड्रोनहरूलाई हावामै नष्ट गर्ने क्षमता राख्छ। गत अप्रिलमा इरानको आक्रमणलाई विफल पार्न यसले महत्वपूर्ण भूमिका खेलेको थियो।

इरानको मुख्य शक्ति उसको मिसाइल भण्डार हो। इरानसँग मध्यपूर्वमै सबैभन्दा ठूलो र विविध मिसाइल परियोजना छ। अमेरिकी अधिकारीहरूका अनुसार इरानसँग ३,००० भन्दा बढी ब्यालिस्टिक मिसाइलहरू छन्। उसले सस्तो तर प्रभावकारी ड्रोन प्रविधिमा पनि ठूलो लगानी गरेको छ।

इरानसँग २२० भन्दा बढी नौसेना जहाजहरू छन्, जबकि इजरायलसँग केवल ६० वटा जहाज छन्। इजरायली नौसेना संख्यामा सानो भए पनि प्रविधि र हतियारको हिसाबले बढी आधुनिक मानिन्छ।

इजरायल साइबर सुरक्षा र आक्रमणमा विश्वकै अग्रणी देशमध्ये एक हो। यद्यपि, इरान र हिजबुल्लाहले पनि पछिल्लो समय साइबर क्षमता बढाएका छन्। इजरायली सरकारी निकायहरूका अनुसार युद्ध सुरु भएयता इजरायलमाथि हुने साइबर आक्रमणको तीव्रता तीन गुणाले बढेको छ।

इजरायलसँग परमाणु हतियार रहेको विश्वास गरिन्छ, यद्यपि उसले यसलाई आधिकारिक रूपमा स्वीकार गरेको छैन। इरानमाथि परमाणु हतियार बनाउन खोजेको आरोप लाग्दै आए पनि उसले त्यसलाई अस्वीकार गर्दै आफ्नो कार्यक्रम शान्तिपूर्ण उद्देश्यका लागि भएको दाबी गर्छ।

इरान क्षेत्रफलमा इजरायल भन्दा धेरै ठूलो छ। इरानको जनसंख्या करिब ८ करोड ९० लाख छ, जुन इजरायलको (१ करोड) भन्दा नौ गुणा बढी हो।

इरानसँग करिब ६ लाख सक्रिय सैनिक छन् भने इजरायलसँग १ लाख ७० हजार सक्रिय सैनिक छन्। यद्यपि, इजरायलसँग ठूलो संख्यामा ‘रिजर्भ’ सैनिकहरू तयारी अवस्थामा रहन्छन्।

– बीबीसी हिन्दीको सहयोगमा