काठमाडौं । इरानले संयुक्त अरब इमिरेट्स (युएई)मा पनि मिसाइल हमला गरेको छ।
शनिबार दिउँसो इरानले हानेको मिसाइल युएईले आकाशमै नष्ट गरेको थियो। उक्त हमलाबाट एक जनाको मृत्यु भएको पनि युएईको सरकारी समाचार संस्थालाई उद्धृत गरेर सिएनएनले लेखेको छ।
आबुधाबीमा युएईको हवाई प्रतिरक्षा प्रणालीले मिसाइल आकाशमै नष्ट पारेको तर त्यसको टुक्रा एउटा घरमा एक जनाको मृत्यु भएको जनाइएको छ।
युएईको रक्षा मन्त्रालयका अनुसार मृतक एसियाली नागरिक थिए। यो आक्रमणलाई युएईले इरानको कायरतापूर्ण काम भनेको छ।
विश्लेषकहरूले यस घटनाले खाडी क्षेत्रमा तनाव थप बढाउने संकेत गरेको बताएका छन्।
त्यसअघि बहराइनमा पनि इरानले मिसाइल हानेको थियो। अमेरिका र इसराइलले शनिबार बिहान इरानमा हवाई आक्रमण गरेको थियो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरूद्ध विशेष कारबाही सुरू भएको घोषणा गरेका छन्।
अमेरिका र इसराइलले हमला गरेपछि इरानले इसराइल र अमेरिकी सैन्य अड्डा रहेको मध्यपूर्वका अन्य देशहरूमा हवाई आक्रमण गरेको छ।