• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

खामेनीका छोरालाई इरानको सर्वोच्च नेता बनाउने तयारी, इजरायलले दियो यस्तो धम्की !

काठमाडौं । इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीका छोरा मोज्तबालाई पिताको उत्तराधिकारीका रूपमा अघि सार्ने तयारी गरिएको छ । तेहरानबाट आधिकारिक घोषणा हुन बाँकी रहे पनि मोज्तबालाई भावी सर्वोच्च नेताको रूपमा हेरिएको हो ।

न्यूयोर्क टाइम्सले इरानी अधिकारीहरूलाई उद्धृत गर्दै मोज्तबाको उत्तराधिकार सम्बन्धी घोषणा छिट्टै हुन सक्ने जनाएको छ । इरानको राजनीतिक संरचनामा सर्वोच्च नेता राष्ट्रपतिभन्दा शक्तिशाली मानिन्छन्, जसको मातहतमा इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्स (आईआरजीसी) सहित सम्पूर्ण सशस्त्र बलहरू रहन्छन् ।

रिपोर्टका अनुसार इरानी धर्मगुरुहरूको हालैको बैठकमा मोज्तबालाई नयाँ नेता घोषणा गर्ने विषयमा छलफल भएको थियो । यद्यपि, कतिपयले उनलाई सर्वोच्च नेता बनाउँदा अमेरिका र इजरायलको प्रत्यक्ष निसानामा पर्न सक्ने चिन्ता व्यक्त गरेका छन् । साथै, सन् १९७९ को इस्लामिक क्रान्तिले राजतन्त्र अन्त्य गरेको पृष्ठभूमिमा खामेनीका छोरालाई नै शक्ति सुम्पिँदा पुनः राजतन्त्रात्मक अभ्यास देखिने भन्दै विरोधका स्वरहरू पनि सुनिएका छन् ।

यसैबीच, इजरायलले इरानमा जोसुकै उत्तराधिकारी आए पनि उसलाई बाँकी नराख्ने कडा चेतावनी दिएको छ । इजरायली रक्षामन्त्री इजरायल काट्जले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘इरानी आतंकवादी शासनले इजरायल विनाशको योजना जारी राख्न नियुक्त गर्ने जोकोही नेता, उ जहाँ लुके पनि हाम्रो लक्ष्यमा हुनेछ। हामी अमेरिकासँग मिलेर यो शासनलाई कमजोर बनाउँछौँ र इरानी जनतालाई नयाँ सरकार बनाउने अवसर दिन्छौँ।’

गत शनिबार सुरु भएको अमेरिका र इजरायलको संयुक्त आक्रमणमा देशका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी आफ्नै निवास क्षेत्रमा रहँदा मारिएका थिए । आक्रमणमा उनकी छोरी, ज्वाइँ र नातिनीको पनि ज्यान गएको थियो । उनकी पत्नी मन्सुरेह खोझास्तेह बाघेरजादेह घाइते भएपछि उपचारका क्रममा निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

खामेनीको अन्त्येष्‍टि मशादमा गरिने र तेहरानमा ठूलो श्रद्धाञ्जली सभा आयोजना गरिने जनाइएको छ । इरानी सरकारी सञ्चारमाध्यमका अनुसार, खामेनीको अन्त्येष्टि समारोह बुधबारदेखि तेहरानमा सुरु गरिने छ । यो समारोह स्थानीय समयअनुसार राति १० बजे सुरु हुनेछ र अन्तिम संस्कार अघि तीन दिनसम्म चल्नेछ ।