• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

क्षमता अनुसार मन्त्री र मन्त्रालयको बाँडफाँड हुन्छ : मनिष झा

जनकपुर । प्रतिनिधिसभा सदस्यको निर्वाचनमा धनुषा क्षेत्र नम्ब ३ बाट भारी मतका साथ विजय प्राप्त गरेका रास्वपाका मनिष झाले जनकपुरधामस्थित जानकी मन्दिरमा पूजापाठ गरेका छन् ।

उनले जानकी मन्दिर पुगेर पूजापाठ गर्दै जानकी माताको आशिर्वाद लिएका हुन् । सो क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै रास्वपाका प्रवक्तासमेत रहेका झाले अब धनुषाको हरेक क्षेत्रको विकास गर्ने प्रतिबद्धता जाहेर गरे ।

उनले खानेपानी, सरसफाई, पर्यावरण, भौतिक संरचनामा रणनितिक लगानीदेखि संस्कृतिक धरोहरहरुलाई सूचिकरण गर्ने पक्रिया अगाडि बढाउने बताए ।

झाले विशेष गरी जनकपुर रेल्वे र जनकपुर एयरपोर्टलाई आर्थिक लाभ लिनसक्ने केन्द्रको रुपमा आधार बनाउन रणनीतिक प्रक्रिया अगाडि बढाउने बताए ।

रास्वपाले सार्वजनिक गरेको प्रतिवद्धता पत्रमा रहेका १०० वटा बुँदाहरु धनुषाका लागि पनि यथावत रहने तर त्यस बाहेक पनि जनकपुर र धनुषामा गर्नुपर्ने कार्यहरु अझ रहेको झाले जानकारी दिए ।

झाले सरकार र सदन गठन भएपछि पार्टीले निर्धारण गरे क्याबिनेटमा बस्ने/नबस्ने बारे विचार गर्ने बताए । उनले सक्षम व्यक्तित्वहरुको कमि नरहेकाले क्षमता अनुसार मन्त्री र मन्त्रालयको बाँडफाँड हुने जानकारी दिए ।

सैद्धान्तिक रुपमा रास्वपाको परिवर्तनको एजेन्डामा समाहित जनाएर गठबन्धन गर्न कुनै दल वा पार्टीले इच्छा जाहेर गरे रास्वपाले ती पार्टी र दललाई स्वागत गर्ने झाले स्पष्ट पारे । उनले संख्यात्मक गठबन्धन भने नगर्ने बताए ।

झा ४३९८८ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यको निर्वाचनमा विजय भएका हुन् । उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बिमलेन्द्र निधिले जम्मा १६६५२ मत प्राप्त गरेका थिए भने तेस्रो स्थानमा रहेकी नेकपा एमालेकी जुली महतोले ९७८६ मत मात्र प्राप्त गरेकी थिइन् ।