• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

अमेरिकाले आफ्ना कर्मचारीहरूलाई भन्यो-तत्काल साउदी छाड्नू

काठमाडौँ । अमेरिकाले साउदी अरबमा रहेको आफ्नो दूतावासका कर्मचारीहरू र उनीहरूका परिवारका सदस्यहरूलाई तत्काल देश छोड्न भनेको छ । इरानले खाडी देशहरूमा ड्रोन आक्रमण जारी राख्दा अमेरिकी विदेश मन्त्रालयले साउदी अरबमा तैनाथ आफ्ना कर्मचारीहरूलाई पछिल्लो निर्देशन जारी गरेको हो ।

सुरक्षा जोखिम रहेको जनाउँदै अमेरिकाले आफ्ना नागरिकहरूलाई साउदी अरबको यात्रामा पुनर्विचार गर्न यसअघि नै जारी गरेको अपील समेत दोहोर्‍याएको छ ।

आइतबार राती मात्रै इरानले साउदी अरबको अल-खर्जमा रहेको आवासीय क्षेत्रमा मिसाइल प्रहार गरेको थियो । जसक्रममा २ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

साउदी नागरिक रक्षा निर्देशनालयका अनुसार त्यसरी ज्यान गुमाउनेमा एक बंगलादेशी र अर्का एक भारतीय नागरिक हुन् । घाइते १२ जना नै बंगलादेशी हुन् ।

उता, इरानी आक्रामण पश्चात साउदी सरकारले इरानलाई कडा चेतावनी दिएको छ । साउदी विदेश मन्त्रालयले सोमबार एक विज्ञप्ती जारी गर्दै इरानको निरन्तर आक्रमणले तनाव थप बढ्ने र त्यसले गम्भीर परिणाम निम्त्याउन सक्ने भनेको छ ।

केही दिनअिघ मात्र इरानी राष्ट्रपति मसूद पेजेश्कियानले छिमेकी देशहरूमा आक्रमण गर्ने कुनै योजना नभएको बताएका भएपनि इरानले साउदीमा आक्रामण गरेपछि मध्यपूर्वको संकट थप चुलिएको छ ।