मध्यपूर्वमा जारी तनावका कारण पेट्रोलियम पर्दाथको मूल्य तीव्र रूपमा बढेपछि एशियाका केही देशहरूले त्यसको प्रभाव न्यूनीकरण गर्न विभिन्न कदमहरु घोषणा गरेका छन्। आइतबार प्रति ब्यारेल कच्चा तेलको मूल्य १०० डलर नाघेपछि विभिन्न देशले राहत योजनाहरु ल्याउन थालेको बिबिसीले जनाएको हो ।
सोमबार मात्रै दक्षिण कोरिया र थाइल्याण्डले इन्धनको मूल्यमा कोटा तोक्ने घोषणा गरेका छन्।
दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले सरकारले पेट्रोलियम पदार्थको मूल्यमा छिट्टै सीमा लागू गर्ने बताएका छन्। आकस्मिक मन्त्रिपरिषद् बैठकमा उनले इरानसँगको द्वन्द्वले उर्जा आयातमा अत्याधिक निर्भर दक्षिण कोरियाको अर्थतन्त्रमा गम्भीर असर परेको समेत बताए।
उनले स्थिति बिग्रिन सक्ने अवस्थाका लागि सरकारले १०० ट्रिलियन वन (करिब ६७ अर्ब डलर) बराबरको राहत कार्यक्रम विस्तार गर्न सक्ने पनि उल्लेख गरे।
इन्धनको भाउ आकाशिएसँगै थाइल्याण्डभर पेट्रोल पम्पहरुमा लामो लाइन लाग्न थालेको छ भने आपूर्ति समेत घटेको छ। थाइल्याण्डका प्रधानमन्त्री अनुतिन चार्नविराकुलले सर्वसाधारणलाई इन्धन सञ्चय नगर्न आग्रह गर्दै डिजेलको मूल्य १५ दिनका लागि यथास्थितिमै राख्ने योजना घोषणा गरेका छन्।
भियतनामको अर्थ मन्त्रालयले इन्धन आयातमा लाग्ने कर अस्थायी रूपमा हटाउने तयारी गरिरहेको जनाएको छ।
फिलिपिन्समा पनि उर्जा बचत गर्ने उद्देश्यले नयाँ कदमहरू लागू गरिएका छन्। राष्ट्रपति फर्डिनान्ड रोमुआल्डेज मार्कोस जुनियरले अत्यावश्यक सेवा प्रदान गर्नेबाहेक अधिकांश सरकारी कार्यालयहरुको कार्यदिन घटाउँदै हप्तामा ४ दिनको मात्र कार्यदिन घोषणा गरेका छन्।
बंगलादेशमा पनि उर्जा बचतका लागि सोमबारदेखि विश्वविद्यालयहरू बन्द गरिएको सरकारी सञ्चारमाध्यमले जनाएका छन्।
खासगरी, राहत योजना ल्याउनेमा धेरै जसो पूर्वी एशियाका देशहरू छन् । मध्यपूर्वको होर्मुज जलमार्ग हुँदै आउने तेलमा निर्भर भएकाले पूर्वी एशियाका देशहरू विशेष रूपमा प्रभावित भएका हुन्।
उता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने आइतबार तेलको मूल्यमा देखिएको वृद्धिलाई अस्थायी भन्दै इरानको आणविक खतरा हटाउन तिर्नु पर्ने सानो मूल्यका रुपमा अर्थ्याएका छन्।
तर ट्रम्पले सो दाबी गरेपनि सोमबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य थप बढेको छ।
तेलको विश्वव्यापी बेन्चमार्क, ब्रेन्ट क्रुडमा सोमबार प्रति ब्यारेल कच्चा तेलको मूल्य १२० डलर नजिक पुगेको छ । अमेरिकी बेन्चमार्क वेस्ट टेक्सस इन्टरमिडिएटमा सोमबार प्रति ब्यारेल कच्चा ११९.४८ डलर पुगेको छ।
यो मूल्य सन् २०२२ मा रूसले युक्रेनमा गरेको आक्रमणपछिकै सबैभन्दा उच्च हो।
मध्यपूर्वबाट उर्जा आपूर्ति लामो समय अवरुद्ध हुन सक्ने चिन्ताका कारण तेलको मूल्य बढेको हो।
आइतबार मात्रै इरानले मोक्तबा खामेनेईलाई नयाँ सर्वोच्च नेता घोषणा गरेको छ । खाडी क्षेत्रमा इरानले आक्रामण गरेको छ । आइतबार मात्रै इरानले साउदी अरबको एक आवासिय क्षेत्रमा ड्रोन आक्रामण गर्दा २ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । तनाव चुलिँदै जाँदा केही खाडी देशहरूले तेल उत्पादन अस्थायी रूपमा रोकेका छन् ।
इरानले अमेरिकी र इजरायली हवाई आक्रमणको जवाफस्वरूप उक्त मार्ग हुँदै जाने जहाजमाथि आक्रमण गर्ने चेतावनी दिएपछि त्यहाँबाट हुने ढुवानी लगभग ठप्प भएको छ। जसले तेलको मूल्य बढाउनमा प्रमुख भूमिका खेलेको छ । विश्वको करिब २० प्रतिशत तेल यही मार्ग हुँदै ढुवानी हुने गरेको थियो ।