काठमाडौँ । इराकको राजधानी बगदादमा रहेको अमेरिकी दूतावासमा मिसाइल र ड्रोन आक्रमण भएको छ। आक्रमणपछि दूतावास परिसरबाट धुवाँ उडिरहेको देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। यद्यपि आक्रमणबाट भएको क्षतिको विस्तृत विवरण भने सार्वजनिक भइसकेको छैन।
रोयटर्सका अनुसार दूतावासलाई लक्षित गर्दै मिसाइल प्रहार गरिएको हो। एसोसिएटेड प्रेसले भने उक्त मिसाइल दूतावास परिसरभित्र रहेको हेलिप्याड क्षेत्रमा खसेको उल्लेख गरेको छ। यस्तै एएफपीले स्रोतहरूलाई उद्धृत गर्दै दूतावासमा ड्रोनमार्फत पनि आक्रमण गरिएको जनाएको छ।
स्थानीय सुरक्षा स्रोतका अनुसार बगदादमा इरान समर्थित दुई लडाकु मारिएको घटनापछि केही समयमै अमेरिकी दूतावासमा आक्रमण भएको हो। पछिल्ला घटनाक्रमले मध्यपूर्व क्षेत्रमा तनाव अझै बढ्दै गएको संकेत गरेको छ।
यसअघि अमेरिका र इजरायलले संयुक्त रूपमा गरेको हवाई हमलापछि इरान र उसका समर्थित समूहहरूबीच तनाव चुलिएको बताइएको छ। त्यसपछि क्षेत्रका विभिन्न स्थानमा ड्रोन तथा मिसाइल आक्रमणका घटना बढ्दै गएका छन्, जसका कारण मध्यपूर्वको सुरक्षा अवस्था थप जटिल बन्दै गएको छ।