काठमाडौँ। मध्यपूर्वमा जारी तनावका माझ स्वदेश फर्कन चाहने कतारमा रहेका नेपालीहरुसँग आवेदन माग गरिएको छ । दोहास्थित नेपाली दूतावासले शनिबार एक सूचना जारी गर्दै साउदी अरबका विमानस्थलहरू हुँदै नेपाल यात्रा गर्न चाहने नेपालीहरूलाई पर्यटक भिसा आवेदनका लागि अपोइन्टमेन्ट बुक गर्न आग्रह गरेको हो।
दूतावासका अनुसार यो सुविधा कतारमा वैध आवासीय अनुमतिपत्र (कतार आईडी) भएका नेपालीहरूका लागि उपलब्ध छ। आवेदन प्रक्रिया दोहास्थित तासिर साउदी भिसा सेवा केन्द्र, एजदान मल (अल घराफा) मार्फत सञ्चालन हुनेछ।
आवेदकहरूले भिसा सम्बन्धी थप जानकारी वा सहयोगका लागि भिसा सेवा केन्द्रमा फोन नं. ५०६६०६२२ मा सम्पर्क गर्न सक्नेछन्। दूतावासले पश्चिम एसियामा रहेको वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै यो कदम चालिएको जनाएको छ।
