काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी तनाव वा युद्ध चाँडै समाप्त हुने बताएका छन्। ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले यस्तो दाबी गरेका हुन्।
पत्रकारहरूले उनलाई ‘के यसै हप्ता युद्ध समाप्त हुन सक्छ?’ भनी सोधेको प्रश्नमा उनले सुरुमा “हो, बिल्कुल” भन्ने जवाफ दिएका थिए। तर, पछि उनले स्पष्ट पार्दै भने, “मलाई त्यस्तो (यसै हप्ता सकिने) त लाग्दैन, तर यो चाँडै हुनेछ। यसका लागि धेरै समय लाग्ने छैन।”
अमेरिकी राष्ट्रपतिका अनुसार इरानको मिसाइल आपूर्ति ठूलो मात्रामा नष्ट भइसकेको छ र अहिले इरानसँग युद्धपूर्वको तुलनामा निकै कम हतियारहरू बाँकी छन्।
सोही क्रममा ट्रम्पले आफ्ना सहयोगी राष्ट्रहरू बेलायत र नेटो सदस्य देशहरूको आलोचना पनि गरे। ती देशहरू अमेरिकालाई साथ दिन हिचकिचाइरहेको उनको आरोप छ।
यद्यपि, ‘स्ट्रेट अफ हर्मुज’ को सुरक्षाका लागि केही देशहरूले अमेरिकालाई सहयोग गर्ने प्रतिबद्धता जनाएको ट्रम्पले बताए। उनले ती देशहरूको नाम नतोके पनि दक्षिण कोरिया, जापान र चीन जस्ता देशहरूले पनि यस क्षेत्रको सुरक्षामा अमेरिकालाई मद्दत गर्नुपर्ने धारणा राखे।