• २०८३ साउन ६
  • 2026 July 22, Wednesday

इरानका सुरक्षा प्रमुख मारिएको इजरायली रक्षा मन्त्रीको दाबी

काठमाडौं । इजरायलका रक्षा मन्त्री इजरायल काट्जले इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का वरिष्ठ नेता एवं प्रभावशाली सुरक्षा अधिकारी अली लारीजानीको मृत्यु भएको दाबी गरेका छन्।

एक आधिकारिक बयान जारी गर्दै काट्जले आफूलाई इरानका उच्च सुरक्षा अधिकारी मारिएको जानकारी प्राप्त भएको बताएका छन्। इजरायली रक्षा बल (आईडीएफ) का एक अधिकारीका अनुसार इजरायलले लारीजानीलाई नै निशाना बनाएर आक्रमण गरेको थियो।

यद्यपि, उनी मारिएको वा घाइते भएको भन्नेबारे आधिकारिक पुष्टि हुन बाँकी रहेको इजरायली पक्षको भनाइ छ।

इजरायलको यस दाबीलाई इरानी सञ्चार माध्यमहरूले भने अस्वीकार गरेका छन्। इरानका सरकारी समाचार एजेन्सीहरू ‘तस्निम’ र ‘मेहर’ ले अली लारीजानी जीवितै रहेको र उनले चाँडै नै एउटा सन्देश जारी गर्ने दाबी गरेका छन्।

को हुन् अली लारीजानी?

अली लारीजानी इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव हुन्। उनलाई अगस्ट २०२५ मा राष्ट्रपति मसूद पेजेस्कियानले परिषद्को सचिव र इरानका सर्वोच्च नेता आयतुलला अली खामेनीको प्रतिनिधिको रूपमा नियुक्त गरेका थिए। इरानी राजनीति र सुरक्षा संयन्त्रमा उनलाई निकै प्रभावशाली व्यक्तिको रूपमा हेरिन्छ।

यस घटनाको केही समयअघि मात्रै लारीजानीले विश्वका मुस्लिम र इस्लामिक देशका सरकारहरूलाई सम्बोधन गर्दै एउटा पत्र जारी गरेका थिए। उक्त पत्रमा उनले इरानलाई संकटको समयमा सहयोग नगरेको भन्दै इस्लामिक देशहरूको कडा आलोचना गरेका थिए।