• २०८३ साउन ६
  • 2026 July 22, Wednesday

तीव्र गतिमा हावाहुरी चल्ने चेतावनी, सतर्क रहन मौसम विभागको आग्रह

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी दुई दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको भन्दै विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। विभागका अनुसार लुम्बिनी र कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा विनाशकारी हावाहुरी चल्न सक्ने देखिएको छ।

विभागले जारी गरेको विशेष बुलेटिन अनुसार भोलि (चैत ६ गते, शुक्रबार) लुम्बिनी प्रदेशका दाङ र नेपालगञ्जसहित तराईका जिल्लाहरूमा तीव्र हावाहुरी चल्ने पूर्वानुमान छ। यस्तै, पर्सि (शनिबार) पूर्वी क्षेत्रका विराटनगर, धनकुटा र धरान आसपासका जिल्लाहरूमा हावाहुरीको प्रभाव बढी रहनेछ।

हावाहुरीको गति झण्डै ३३ मिटर प्रति सेकेण्ड अर्थात् करिब ११९ किलोमिटर प्रतिघण्टा सम्म पुग्न सक्ने विभागको अनुमान छ। यति तीव्र गतिको हावाहुरीका कारण रुख ढल्ने, कमजोर संरचना तथा घरका छाना उड्ने जोखिम रहन्छ। साथै, विद्युत र सञ्चार सेवा समेत प्रभावित हुन सक्ने भएकाले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।

सम्भावित जोखिमबाट बच्न र धनजनको क्षति न्यूनीकरणका लागि मौसम पूर्वानुमानप्रति सचेत रहन र सुरक्षित स्थानमा बस्न विभागले विशेष सुचित गरेको छ।