• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

इरान युद्ध सुरु भएयता होर्मुज स्ट्रेटबाट गुज्रने जहाजहरू कुन-कुन देशका हुन् ?

काठमाडौं । इरान युद्ध सुरु भएदेखि विश्वकै व्यस्त समुद्री मार्गमध्ये एक ‘होर्मुज स्ट्रेट’ बाट हुने आवत–जावतमा भारी गिरावट आएको छ। बीबीसी भेरिफाईको तथ्याङ्क अनुसार, मार्च महिनाको सुरुवातदेखि हालसम्म यस मार्गबाट करिब १०० वटा जहाज मात्रै गुज्रिएका छन्।

इरानी सेनाले जहाजहरूमाथि निरन्तर हमला गरिरहेका कारण यो मार्ग अहिले अत्यन्तै जोखिमपूर्ण बनेको छ।

जोइन्ट म्यारिटाइम इन्फर्मेसन सेन्टरका अनुसार, युद्ध सुरु हुनुअघि होर्मुज स्ट्रेटबाट दैनिक करिब १३८ जहाजहरू गुड्ने गर्थे, जसले विश्वको कुल तेल आपूर्तिको २० प्रतिशत हिस्सा ओगट्थ्यो। तर, २८ फेब्रुअरीमा इरान युद्ध सुरु भएपछि यहाँको दैनिक यातायात पहिलेको तुलनामा मात्र ५ प्रतिशतमा झरेको छ। सिपिङ विश्लेषण गर्ने संस्था ‘केप्लर’का अनुसार अहिले दैनिक औसत ५ देखि ६ वटा जहाज मात्र यस मार्गबाट हिँडिरहेका छन्।

बीबीसी भेरिफाईले गरेको विश्लेषण अनुसार मार्च महिनामा पार भएका ९९ जहाजहरूमध्ये करिब एक–तिहाइ जहाजहरू इरानसँग कुनै न कुनै रूपमा जोडिएका छन्। यसमा इरानको झण्डा भएका १४ जहाजहरू सामेल छन्। केही यस्ता जहाज पनि छन् जसमाथि इरानसँग तेल व्यापार गरेको आरोपमा प्रतिबन्ध लगाइएको छ।

९ वटा जहाजहरू यस्ता कम्पनीका हुन् जसको ठेगाना चीनसँग जोडिएको छ। यस्तै, ६ वटा जहाजहरूले आफू भारततर्फ जाँदै गरेको जानकारी दिएका छन्।

यसैगरी, पाकिस्तानको झण्डा भएको एक तेल ट्याङ्करले १५ मार्चमा सामान्य रुट छोडेर इरानी तटको नजिकैबाट यात्रा गरेको देखिएको छ। विज्ञहरूका अनुसार यो जहाजले इरानी निर्देशन पालना गरिरहेको वा सम्भावित माइन (बारुदी सुरुङ) बाट बच्न यसो गरेको हुनसक्छ।

ग्रीसका केही कम्पनीका जहाजहरूले जोखिमका कारण बन्दरगाहमा लंगर हालेर बसेका छन्। यद्यपि, ‘स्टार ग्विनिथ’ (ग्रीस) र ‘एमटी सेफ्सी विष्णु’ (अमेरिका) जस्ता जहाजहरूमाथि आक्रमण भइसकेको छ।

मार्च ११ मा थाइल्याण्डको झण्डा भएको जहाज ‘मयूरी नारी’ माथि दुईवटा मिसाइल प्रहार गरियो, जसमा चालक दलका ३ सदस्य अझै बेपत्ता छन्। सोही दिन ग्रीस र अमेरिकी स्वामित्वका जहाजमा पनि हमला भएको थियो। एमटी सेफ्सी विष्णुमा भएको हमलामा एक जनाको मृत्यु भएको छ।

आक्रमणबाट बच्नका लागि धेरैजसो जहाजहरूले आफ्नो ट्र्याकिङ प्रणाली बन्द गरेर हिँड्ने गरेका छन्। ओमानको खाडीमा प्रवेश गर्नेबित्तिकै जहाजहरू म्यापबाट गायब हुन्छन् र केही घण्टा वा दिनपछि मात्र पुनः देखा पर्छन्।

विज्ञहरूका अनुसार इरानले जानाजानी डर पैदा गरेर जहाजहरूलाई आफ्नो समुद्री क्षेत्र र नियमभित्र ल्याउन खोजिरहेको छ। यसले गर्दा अन्तर्राष्ट्रिय समुद्री मार्गको सट्टा जहाजहरू इरानी तटको नजिकबाट जान बाध्य छन्।