बेन्जामिन नेतान्याहुले एउटा यस्तो कुरामा सफलता हासिल गरे, जुन यसअघिका कुनै पनि इजरायली प्रधानमन्त्रीले गर्न सकेका थिएनन्। इजरायलले आफ्नो क्षेत्रीय शत्रु मान्ने इरानविरुद्धको खुला आक्रमणमा संयुक्त राज्य अमेरिकालाई सहभागी गराउन नेतान्याहु सफल भएका छन्।
ती आक्रमणहरूबाट हालसम्म इरानमा एक हजार ४ सय भन्दा बढी मानिस मारिएका छन्। आक्रमण मध्यपूर्वसम्म फैलँदा अन्य क्षेत्रीय देशहरूमा पनि दर्जनौँको मृत्यु भइसको छ।
युद्धको असर विश्व अर्थतन्त्रसम्मै फैलिसकेको छ। विश्व अर्थतन्त्रका लागि महत्त्वपूर्ण कारक तेलको मूल्य नयाँ उच्च स्तरमा पुगेको छ। योसँगै विभिन्न देशहरूले तेलको अभावसँगै महँगीको सामना गरिरहेका छन्।
तर सारा विश्वले केही न केही गुमाइरहेको यस युद्ध नेतान्याहुका लागि भने जीत सरह बन्दै गएको छ। किनकि, इरानसँगको युद्धलाई नेतान्याहुले आफ्नो अनुकूलतामा ढाल्दै गइरहेका छन्।
इरानी खतरा
नेतान्याहुले वर्षौँदेखि इजरायल र समग्र विश्वका लागि इरानबाट हुने खतराबारे चेतावनी दिँदै आएका छन्। उनले एक समय संयुक्त राष्ट्र संघको महासभामा एउटा पोस्टर नै लिएर गएर इरान आणविक हतियार नजिक पुगेको दाबी गरेका थिए र त्यसले निम्त्याउने खतरा औँल्याएका थिए।
तर इजरायलले अमेरिकाको समर्थन बिना इरानविरुद्धको कुनै पनि द्वन्द्व आफूले जित्न नसक्ने महसुस गर्दै आइको थियो। तर अनेक प्रयास गर्दा पनि अमेरिकाबाट त्यस्तो समर्थन कहिल्यै प्राप्त पनि भएन-जबसम्म अमेरिकामा डोनाल्ड ट्रम्प आएनन्।
गत वर्षको जून महिनामा ट्रम्पले इरानविरुद्धको इजरायली युद्धमा सहभागी हुन सहमति दिएका थिए। तर इरानी आणविक स्थलहरूमा आक्रमण भएपछि उनले चाँडै द्वन्द्व अन्त्य गराएका थिए। तर यस पटक भने ट्रम्प सुरुदेखि नै द्वन्द्वमा संलग्न भए।
यस द्वन्द्वको भविष्य अझै अज्ञात छ। तर नेतान्याहुले भने अन्ततः अमेरिकालाई इजरायलसँगै इरानविरुद्ध युद्धमा सहभागी गराउन सफल भएकोमा केही सफलता महसुस गर्नेछन् र दुई देशबिच प्रत्यक्ष साझेदारीको छवि स्थापित भएको छ।
यदि युद्धले इरानी सरकारको पतन निम्त्याएन भने पनि इस्लामिक गणतन्त्र इरान कमजोर भएको छ र दीर्घकालमा इजरायलका लागि कम खतरा बन्न सक्छ।
लेबनानी समूह हिज्बुल्लाहमाथि भएका कडा आक्रमणहरू र सिरियाका बशर अल असदको पतनसँगै इरानको क्षेत्रीय शक्ति क्षय भएको मानिएको छ। योसँगै नेतान्याहुले इजरायल अब क्षेत्रमा कसैसँग डराउनुपर्ने अवस्था छैन र निर्विवाद रूपमा प्रभुत्वशाली शक्ति भएको तर्क गर्न थालेका छन्।
नेतान्याहुको भ्रष्टाचार मुद्दा
हाल नेतान्याहुले २०१९ देखि चलिरहेका ३ वटा भ्रष्टाचारका मुद्दाहरूको सामना गरिरहेका छन्। त्यसैले आफूमाथिको आपराधिक कारबाहीलाई ढिलाइ गर्न र ओझेलमा पार्न नियोजित रूपमा उनले विभिन्न घटनाहरू गराइरहेको आरोप लाग्दै आएको छ। गाजाविरुद्धको युद्धलाई समेत सोही रूपमा धेरैले अर्थ्याउने गरेका छन्। कुनै देश वा समूहसँग द्वन्द्वमा रहँदा प्रायः अदालती सुनुवाइहरू स्थगित वा अवरुद्ध भएका छन्। यसले उनलाई अदालतमा उपस्थित हुनबाट जोगाउँदै आएको छ।
उनीमाथि चलेको मुद्दामा दोषी ठहरिए नेतान्याहुलाई सम्भावित १० वर्षको सजाय हुन सक्छ। त्यसैले यस महिनाको सुरुमा पनि नेतान्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अघिल्लो अपिल दोहोर्याउँदै इजरायलका राष्ट्रपति इसाक हर्जोगलाई उनलाई आममाफी दिन आग्रह गरेका थिए। राष्ट्रपतिबाट त्यस्तो आममाफी पाएमा त्यसले उनलाई मुद्दाबाट बच्न र दोषी ठहरिएमा सामना गर्नुपर्ने सम्भावित १० वर्षको सजायबाट जोगिन मद्दत गर्नेछ।
इरानसँग युद्ध भइरहे पनि नेतान्याहुले यो विषय छोडेका छैनन्। युद्ध सुरु भएको १२ दिनपछि गरिएको पहिलो पत्रकार सम्मेलनमा उनले आफूमाथिको कानुनी कारबाहीलाई “हास्यास्पद सर्कस” को संज्ञा दिएका थिए। त्यसमा थप्दै उनले राष्ट्रपति हर्जोगले “उपयुक्त कुरा” गरेर मुद्दा टुङ्ग्याउनुपर्ने समेत बताएका थिए। यसो भएमा आफूले पूर्ण रूपमा युद्ध र क्षेत्रीय कूटनीतिमा ध्यान केन्द्रित गर्न सक्ने उनको तर्क थियो।
“उहाँले इजरायल राज्यलाई समय दिनुपर्छ र मलाई पनि आवश्यक काम गर्न समय दिनुपर्छ । हाम्रा शत्रुहरूलाई पराजित गर्न मात्र होइन, शान्ति, समृद्धि र क्षेत्रीय गठबन्धनका ठूलो अवसर सिर्जना गर्न पनि,” राष्ट्रपति हर्जोगलाई सम्बोधन गर्दै नेतान्याहुले मार्च १२ मा पत्रकारहरूसँग भने, “अगाडि निकै ठूलो कुरा आउँदै छन् र म अहिले ती काम गरिरहेको छु। म पूर्ण रूपमा अवरोधरहित हुन चाहन्छु।”
तर सोही हप्ताको सुरुमा इजरायलको न्याय मन्त्रालयले नेतान्याहुको मुद्दा चलिरहेकै अवस्थामा माफी दिनु अनुपयुक्त हुने बताएको थियो।
न्यायपालिकाको पुनर्संरचना
नेतान्याहु र उनका दक्षिणपन्थी सहयोगीहरूले न्यायपालिकाको पुनर्संरचनाका लागि प्रयास गर्दै आएका छन् । तर उनका विपक्षीहरूले भने त्यस्ता प्रयासहरूले न्यायपालिकालाई कमजोर पार्ने गरी सरकारमाथि निगरानी गर्ने निकायको रूपमा अदालती भूमिका निस्तेज हुने भन्दै विरोध गर्दै आएका छन्।
यो विषय २०२२ को अन्त्यमा नेतान्याहुको चुनावी जितपछिका प्रारम्भिक महिनाहरूमा जबरजस्त रूपमा उठेको थियो। त्यसबेला हजारौँ इजरायलीहरूले सडकमा उत्रिएर न्यायपालिकाको पुनर्संरचनालाई “कू” भन्दै विरोध गरेका थिए। तर अक्टोबर ७ को आक्रमणपछि र गाजामा युद्ध सुरु भएपछि त्यो आन्दोलन कमजोर भयो।
तर इरानसँग युद्ध भइरहे पनि नेतान्याहुले भने यो मुद्दा छोडेका छैनन्। बरु, विवादास्पद कानुन अघि बढाउन युद्धलाई आवरणको रूपमा प्रयोग गरेको आरोप उनीमाथि लागेको छ। मार्चको मध्यतिर पनि नेतान्याहुको गठबन्धन सरकारले संसदमा महान्यायाधिवक्ताको अधिकार विभाजन गर्ने र मिडियामाथि सरकारी नियन्त्रण बढाउने विधेयक अघि बढाउने प्रयास गर्यो।
प्रस्तावित कानुनले अक्टोबर ७ को आक्रमणअघिका सरकारी असफलताहरूको अनुसन्धान गर्न राजनीतिक रूपमा नियुक्त प्यानल पनि गठन गर्नेछ।
सरकारको कदमप्रति प्रतिक्रिया दिँदै विपक्षी नेता याएर लापिड (जसले इरानविरुद्धको युद्धलाई समर्थन गरेका छन् र गाजामा भएको हिंसालाई पनि समर्थन गरेका थिए) ले संसदका सभामुख अमिर ओहाना र गठबन्धनका “सबै चरमपन्थीहरू” लाई इजरायल युद्धमा रहेको कुराको वास्ता नगरेको आरोप लगाए।
“जब सम्पूर्ण देश एकत्रित भएको छ, गठबन्धनले आफ्नो चरम एजेन्डा अघि बढाइरहेको छ र राजनीतिक उद्देश्यका लागि पैसा लुटिरहेको छ,” उनले एक वक्तव्यमार्फत भने।
प्यालेस्टिनीहरूमाथिको व्यवहारको आलोचना
वेस्ट बैंकमा प्यालेस्टिनीहरूमाथि इजरायली हिंसा तीव्र रूपमा बढेको छ । इरानसँगको युद्ध सुरु भएयता गाजामा अझ कडा प्रतिबन्ध लगाइएको छ। गत मार्च ११ मा युरोपेली संघ र बेलायत दुवैले इजरायललाई वेस्ट बैंकमा भइरहेको हिंसा रोक्न माग गरेका थिए।
तर, वेस्ट बैंकमा हिंसा रोकिएको छैन र युद्ध सुरु भएयता मृतकको संख्या ११ पुगिसकेको छ। २०२३ अक्टोबर ७ देखियता मात्रै वेस्ट बैंकमा एक हजार भन्दा बढी प्यालेस्टिनी मारिएका छन्।
इरानविरुद्धको युद्ध सुरु भएयता त्यहाँ मारिएकामध्ये बानी ओदेह परिवारका सदस्यहरू पनि थिए—जसमा आमा वाअद र बुवा अलीसँगै उनका दुई साना बालबालिका, पाँच वर्षका मोहम्मद र सात वर्षका उस्मान थिए। मार्च १५ मा ताम्मुन गाउँमा उनीहरू यात्रा गरिरहँदा इजरायली सैनिकहरूले गोली प्रहार गर्यो र ज्यान लियो। यसले अन्तर्राष्ट्रिय निन्दा त आकर्षित गर्यो तर पनि खास प्रभाव देखिएन।
करिब दुई वर्षदेखि जारी युद्धले गाजामा विनाश ल्याइसकेको छ र अवस्था अझै दयनीय छ। यसै बुधबार संयुक्त राष्ट्र संघले फेरि इजरायललाई युद्धकालीन प्रतिबन्ध खुकुलो पार्न र सहायता प्रवेश गर्न दिन आग्रह गर्यो। यूएनआरडब्लुए प्रमुख फिलिप लाजारिनीले इजरायली सेनाको असन्तुलित कारबाही दण्डहीनताका साथ सामान्य बन्दै गएको चेतावनी दिए। त्यसका बाबजुद सबैको ध्यान इरानतर्फ केन्द्रित भएकाले गाजामा मानवीय सहायता प्रवेश गराउने अक्टोबरको युद्ध विराम सम्झौताअनुसारका प्रतिबद्धताहरू पूरा गर्न इजरायलमाथि कम दबाब पर्न थालेको छ।
नेतान्याहुको चुनावी चिन्ता
विभिन्न घोटालाका प्रकरणहरू र अक्टोबर ७ को आक्रमणअघिका आफ्ना तथा सरकारका असफलताका लागि धेरै इजरायलीहरूले दोष दिएका कारण नेतान्याहु यस वर्षको अन्त्यतिर हुने चुनावमा हार्ने जोखिममा थिए। यसले उनलाई कानुनी रूपमा थप जोखिममा पार्न सक्थ्यो।
इरानसँगको युद्ध सुरु हुनुअघि हिब्रु भाषाको पत्रिका मारिभले गरेको एक चुनावी सर्वेक्षणअनुसार नेतान्याहु र पूर्व प्रधानमन्त्री नफ्ताली बेनेटबिच कडा प्रतिस्पर्धाको अवस्था देखिएको थियो।
तर युद्धयताको हालैको अर्को एक सर्वेक्षणअनुसार युद्धको नेतृत्व गर्ने नेतान्याहुको क्षमताप्रतिको आम विश्वास ६० प्रतिशतबाट बढेर ६२ प्रतिशत पुगेको छ।
त्यसैगरी, इजरायलमा धेरैले अमेरिकालाई युद्धमा सहभागी गराउन सफल भएको नेतान्याहुलाई श्रेय दिन थालेका छन्। विश्लेषकहरूको बुझाइमा यो कुरा बुझेको नेतान्याहुको सरकारले यस वर्षको बिचतिर नै आकस्मिक चुनाव घोषणा गर्न सक्ने सम्भावना छ, ताकि शक्तिशाली युद्धकालीन नेताको छविले नेतान्याहुलाई जिततर्फ धकेल्न सकोस्। (एजेन्सीहरुको सहयोगमा)