काठमाडौं । अमेरिका, इजरायल र इरानबीच युद्ध सुरु भएपछि उत्तर कोरियाका शासक किम जोङ उनको मनमा पक्कै पनि धेरै जटिल प्रश्नहरू उब्जिएका होलान् ।
उत्तर कोरियाले इरानमाथि भएका हमलाहरूको तुरुन्तै निन्दा गर्दै यसलाई ‘बिना कुनै जायज कारण गरिएको आक्रामक युद्ध’ भनेको छ । आखिर, सन् १९७९ देखि नै यी दुई देशबीच (अमेरिका विरोधी मोर्चा) मा एउटा बलियो साझेदारी रही आएको छ र उनीहरूले मिसाइल विकासमा समेत सहकार्य गरेका छन् ।
आफ्नो पहिचान गोप्य राख्ने शर्तमा एक पूर्व उत्तर कोरियाली कूटनीतिज्ञले बीबीसीलाई दिएको जानकारी अनुसार, इरान उत्तर कोरियाको हतियार निर्यातको सबैभन्दा ठूलो गन्तव्य समेत हो । यद्यपि, विश्लेषकहरूका अनुसार दुईवटा यस्ता कारण छन् जसले उत्तर कोरियालाई इरानको तुलनामा कयौँ गुणा बढी मजबुत स्थितिमा राख्छन् ।
सन् २००३ मा इराक युद्धका बेला उत्तर कोरियाका तत्कालीन नेता किम जोङ इल (वर्तमान शासकका पिता) लगातार ५० दिनसम्म सार्वजनिक रूपमा देखिएका थिएनन् । दक्षिण कोरियाली गुप्तचर निकायका अनुसार, उनले त्यो समय राजधानी प्योङयाङबाट करिब ६०० किलोमिटर टाढा समजियोन परिसरको एउटा बंकरमा लुकेर बिताएका थिए ।
तर, यसपटक परिस्थिति फरक छ। इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मारिएपछि पनि उनका छोरा किम जोङ उन सार्वजनिक मञ्चहरूबाट टाढा भएका छैनन् । दक्षिण कोरियाको राष्ट्रिय गुप्तचर सेवाका पूर्व निर्देशक जाङ योङ सेओक भन्छन्, ‘यो प्रतिक्रियाले उत्तर कोरिया आफ्नो तागतप्रति कति विश्वस्त छ भन्ने देखाउँछ।’
उत्तर कोरिया वास्तवमै एउटा परमाणु हतियार सम्पन्न देश हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत सन् २०२५ मा यस देशलाई ‘धेरै परमाणु हतियार भएको एक किसिमको परमाणु शक्ति’ स्वीकार गरेका थिए ।
स्टकहोम इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्युटको २०२५ को रिपोर्ट अनुसार उत्तर कोरियासँग करिब ५० वटा परमाणु वारहेड छन् र थप ४० वटा बनाउन सक्ने क्षमता छ । उत्तर कोरिया अब युद्धमै प्रयोग गर्न मिल्ने ‘ट्याक्टिकल’ परमाणु हतियार निर्माणको अन्तिम चरणमा रहेको भनेर दक्षिण कोरियाले यसअघि नै चेतावनीसहित जानकारी गराइसकेको छ ।
अर्कोतर्फ, संयुक्त राष्ट्र संघको अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सीका अनुसार इरानसँग परमाणु कार्यक्रम त छ, तर उनीहरूले ‘परमाणु बम’ नै बनाएको कुनै प्रमाण भेटिएको छैन । सन् २०१८ मा ट्रम्पले इरानसँगको परमाणु सम्झौताबाट हात झिकेपछि इरानले निरीक्षणहरूमा कडाइ गरेको थियो, जसका कारण उसले खामेनीको मृत्युअघि पूर्ण सुरक्षा कवच प्राप्त गर्न सकेन ।
उत्तर कोरियाको भौगोलिक अवस्थितिले पनि उसलाई सुरक्षा दिन्छ । यसको सीमा चीनसँग जोडिन्छ, जसले उत्तर कोरियालाई अमेरिका र दक्षिण कोरियाविरुद्धको एउटा महत्त्वपूर्ण ‘ढाल’ मान्छ। सन् १९६१ देखि नै चीन र उत्तर कोरियाबीच एउटा रक्षा सन्धि छ, जसअनुसार उत्तर कोरियामाथि हमला भए चीनले उसको रक्षा गर्नुपर्ने हुन्छ । यसका साथै, युक्रेन युद्धपछि उत्तर कोरिया रुसको निकै नजिक पुगेको छ । सन् २०२४ मा भएको रक्षा सम्झौताले किमलाई ठूलो सैन्य र आर्थिक आड दिएको छ ।
विज्ञ जाङका अनुसार उत्तर कोरियाले दक्षिण कोरिया र जापानलाई एक किसिमको परमाणु बन्धक बनाएको छ । सियोल र प्योङयाङबीचको दूरी मात्र २०० किलोमिटर छ, जसको अर्थ सियोल उत्तर कोरियाको प्रत्यक्ष निशानामा छ । दक्षिण कोरिया र जापानमा करिब ८० हजार अमेरिकी सैनिक तैनाथ छन् । यस्तोमा उत्तर कोरियामाथि हमला गर्नुको अर्थ आफ्नै हजारौँ सैनिक र सहयोगी राष्ट्रहरूलाई खरानी बनाउनु हो, जुन जोखिम मोल्न अमेरिकाका लागि सहज छैन ।
वासिङ्टनस्थित थिङ्क ट्याङ्क कोरिया–यूएस इकोनोमिक इन्स्टिच्युटकी एलेन किम भन्छिन्, ‘इरान युद्धले किम जोङ उनको मनमा यो धारणा झन् बलियो बनाएको हुनुपर्छ कि अली खामेनी त्यसैले असहाय भए किनकि उनीसँग परमाणु हतियार थिएन ।’
जेनी टाउन पनि यसमा सहमत छिन् । उनी भन्छिन्, ‘परमाणु शक्ति बन्न उत्तर कोरियाले वर्षौँसम्म ठूलो आर्थिक र मानवीय मूल्य चुकाएको छ । तर, आज किमलाई लागेको होला, उनको त्यो निर्णय सही थियो । किनकि उनलाई थाहा छ– परमाणु हतियार भएको देशमाथि हमला गर्नुको मूल्य यति धेरै हुन्छ कि कसैले पनि त्यसलाई व्यवहारिक विकल्प मान्न सक्दैन ।’
इरान युद्धको निन्दा गर्दा पनि किम जोङ उनले ट्रम्पमाथि व्यक्तिगत प्रहार नगर्नुले के संकेत गर्छ भने, किम अझै पनि अमेरिकासँग आफ्नो ‘परमाणु हैसियत’को सम्मान हुने गरी वार्ताको ढोका खुल्ला राख्न चाहन्छन् । तर, सत्ता टिकाउनका लागि उनले अब परमाणु हतियारलाई नै आफ्नो अन्तिम सुरक्षा कवच मानेका छन् ।
(–बीबीसी हिन्दीको सहयोगमा )