• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

हेलिकप्टरमार्फत उद्वार गरिएकी महिला र नवजात शिशुको मृत्यु

बाजुरा । बाजुराबाट हेलिकप्टरमार्फत उद्वार गरिएकी एक महिलाको मृत्यु भएको छ । यही चैत्र ४ गते बाजुराबाट थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत रिफर गरिएकी बाजुराको बडीमालिका नगरपालिका वडा नम्बर १ की २१ बर्षीया सुरता रोकाया र उनको नवजात शिशुको मृत्यु भएको हो ।

एक हप्ताको नवजात शिशु र सुत्केरी आमाको मृत्यु भएको हो । सुत्केरी आमा र नवजात शिशुको उपचारको क्रममा शनिबार सुर्खेतमा मृत्यु भएको बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनीले जानकारी दिए ।

सुरता लामो समयदेखि मुटु रोगबाट समेत ग्रसित थिइन् । डाक्टरले बच्चा जन्माउन नहुने सुझाव समेत दिएका थिए । उनले जिल्ला अस्पताल बाजुरामा शिशुलाई जन्म दिएकी थिइन् । पछि स्वास्थ्यमा जटिल समस्या हुँदै गएपछि थप उपचारका लागि सुविधायुक्त अस्पतालमा लगिएकोमा उपचारको क्रममा ज्यान गएको हो ।

घटनाले बाजुरा जस्तो दुर्गम क्षेत्रमा अझै गम्भीर स्वास्थ्य समस्या, सचेतनाको कमी लगायतका समस्याहरु यथावत् रहेको देखाएको छ । आवश्यक परामर्श र नियमित उपचारको पहुँच नहुँदा यस्ता दुःखद् घटनाहरु दोहोरिने क्रम रोकिएको छैन ।