• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

अमेरिका र इरानबीचको वार्ता सकारात्मक, ऊर्जा केन्द्रमा आक्रमण ५ दिनका लागि स्थगित

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वमा जारी युद्धलाई पूर्ण रूपमा अन्त्य गर्ने विषयमा इरानसँग सकारात्मक र रचनात्मक कुराकानी भएको बताएका छन्। ट्रम्पले इरानका विद्युत् गृह र ऊर्जा पूर्वाधारहरूमा गर्ने भनिएको सैन्य आक्रमणलाई पाँच दिनका लागि टार्ने निर्णय समेत गरेका छन्।

सामाजिक सञ्जाल ‘ट्रुथ सोसलमा एक पोस्ट गर्दै ट्रम्पले लेखेका छन्, ‘मलाई यो बताउन पाउँदा खुसी लागेको छ कि अमेरिका र इरानबीच विगत दुई दिनदेखि मध्यपूर्वको टकराव समाधानका लागि निकै राम्रो कुराकानी भएको छ। वार्ताको यो सकारात्मक वातावरणलाई ध्यानमा राख्दै मैले रक्षा मन्त्रालय (वार डिपार्टमेन्ट) लाई इरानका ऊर्जा केन्द्रहरूमा हुने सबै सैन्य आक्रमण पाँच दिनका लागि स्थगित गर्न निर्देशन दिएको छु।’

यो निर्णय आगामी बैठक र छलफलको सफलतामा निर्भर रहने पनि उनले स्पष्ट पारेका छन्।

ट्रम्पको यस बयानपछि विश्व बजारमा सकारात्मक प्रभाव देखिएको छ। कच्चा तेलको मूल्यमा १३ प्रतिशतले गिरावट आएको छ भने ग्यासको मूल्य पनि घटेको छ।

ट्रम्पले वार्ता सफल भएको दाबी गरे पनि इरानको तर्फबाट अहिलेसम्म यसको आधिकारिक पुष्टि भएको छैन। केही दिन अघिसम्म दुवै पक्षले एक–अर्काविरुद्ध आक्रामक अभिव्यक्ति दिइरहेका थिए। ट्रम्पले शुक्रबार मात्रै इरानसँगको युद्धविरामको सम्भावनालाई नकारेका थिए, तर अहिले उनको बोली फेरिएको छ।

विज्ञहरूका अनुसार यो वार्ता इरानको आणविक कार्यक्रम, ब्यालिस्टिक मिसाइल वा होर्मुज स्ट्रेट खोल्ने विषयमा केन्द्रित हुन सक्छ।

केही दिनअघि इरानले इजरायलको अघोषित आणविक ठेगानामा मिसाइल आक्रमण गरेपछि तनाव उत्कर्षमा पुगेको थियो। जवाफमा ट्रम्पले इरानलाई होर्मुज स्ट्रेट खोल्न ४८ घण्टाको ‘डेडलाइन’ दिएका थिए र नखोले इरानका सबै पावर प्लान्ट ध्वस्त पार्ने चेतावनी दिएका थिए।

इरानका विदेशमन्त्री अब्बास अरागचीले होर्मुज स्ट्रेट पूर्ण रूपमा बन्द नभएको तर त्यहाँको सुरक्षा स्थिति गम्भीर रहेको बताएका छन्। इरानले अमेरिका र इजरायलको आक्रमणका कारण आफूहरूले आत्मरक्षाका लागि केही जहाजहरूको आवागमनमा रोक लगाएको स्पष्ट पारेको छ। इरानले अमेरिका र इजरायलले अन्तर्राष्ट्रिय कानुन उल्लंघन गर्दै आफूमाथि आक्रमण गरेको आरोप समेत लगाएको छ।