काठमाडौँ । अबदेखि बागलुङ क्षेत्र नं २ का जनताले ललितपुरको ग्वार्कोस्थित बीएण्डबी अस्पतालमा उपचार गराउँदा २० प्रतिशत छुट पाउने भएका छन् । बागलुङ-२ बाट नवनिर्वाचित सांसद सोम शर्माको पहलमा आजदेखि यो सुविधा सुरु भएको हो ।
छुट सम्बन्धी एमओयुमा नवनिर्वाचित सांसद शर्मा र अस्पतालका प्रशासन प्रमुख प्रकाश कुमार भट्टराईले मंगलबार हस्ताक्षर गरेका छन् ।
नवनिर्वाचित सांसद शर्माले यस सुविधाले काठमाडौँ आएर उपचार गराउनुपर्ने बागलुङ-२ का स्थानीयलाई राहत पुग्ने बताए ।
“स्वास्थ्य सेवालाई अझ सर्वसुलभ बनाउने बाचा अनुरूप यो प्रयास थालिएको छ । यसले मेरो क्षेत्रका जनतालाई केही राहत पुग्ने छ,” नवनिर्वाचित सांसद शर्माले भने ।
यस्तै, शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीको बाचा पत्र अनुरूप यस किसिमको प्रयासलाई देशव्यापी बनाउँदै लगिने समेत उल्लेख गरे ।
“बागलुङ-२ को निर्वाचित जनप्रतिनिधिका हिसाबले त्यहाँका समस्यामा म हरदम साथ रहनेछु । यो एउटा सुरुवात हो, अन्य कार्य पनि गर्दै जानेछु,” शर्माले भने, “यद्यपि, मेरो पार्टीले स्वास्थ्यमा आम मानिसको पहुँचलाई सर्वसुलभ बनाउने बाचा गरेको हुँदा त्यसमा धेरै कार्य गर्नुपर्ने छ ।”
प्रशासन प्रमुख भट्टराईले स्तरीय सेवा सबै नागरिकमा पुर्याउने आफ्नो अस्पतालको योजना रहेकोमा बागलुङसँग जोडिन पाउँदा खुसी व्यक्त गरे ।
“काठमाडौँदेखि निकै टाढाको बागलुङका जनतासँग जोडिन पाउँदा निकै खुसी छौँ । यस सम्झौताले त्यहाँका जनतालाई सहुलियत पुर्याउने छ,” भट्टराई ले भने ।
२० प्रतिशतको छुट सुविधा पाउन आफू बागलुङ-२ को स्थानीय रहेको सिफारिस पत्र ल्याउनुपर्ने अस्पताल प्रशासनले जनाएको छ ।