• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

ट्रम्पले दिए इरानलाई थप १० दिनको समय

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरुद्धको सैन्य कारबाहीका सन्दर्भमा नयाँ दाबी गर्दै इरानलाई १० दिनको थप समय दिएको बताएका छन्।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, ‘हामीले इरान सरकारको अनुरोधमा उसका ऊर्जा प्लान्टहरूमा हुने हमला १० दिनका लागि स्थगित गरेका छौँ। यो छुट ६ अप्रिल २०२६ राति ८ बजेसम्म लागू हुनेछ।’ ट्रम्पले इरानसँगको वार्ता सही दिशामा अघि बढिरहेको दाबी गरे पनि इरानले भने यसको खण्डन गर्दै वार्ता आफ्नै सर्तमा हुने बताएको छ।

यसअघि, ट्रम्पले इरानलाई स्ट्रेट अफ हर्मुज पूर्ण रूपमा खुला गर्नका लागि गत शनिबार ४८ घन्टाको अल्टिमेटम दिएका थिए। ४८ घन्टे अल्टिमेटमपछि ट्रम्पले इरानलाई पाँच दिनभित्र हर्मुज नखोले बिजुली उत्पादन गर्ने इरानका ऊर्जा केन्द्रहरूमा प्रहार गर्ने धम्की दिएका थिए।

त्यसको समयावधि सकिन लागेपछि ट्रम्पले ऊर्जा संरचनामा प्रहार गर्ने योजना अप्रिल पहिलो सातासम्म लम्ब्याएका हुन्। ट्रम्पले इरानका ऊर्जा केन्द्रहरूमा प्रहार गरे मध्यपूर्वका सबैखाले पूर्वाधारमा आक्रमण गर्ने धम्की इरानले यसअघि नै दिएको थियो।

यसबीच, पाकिस्तानी अधिकारीहरूले मध्यस्थकर्ताको भूमिका खेल्दै युद्धविरामको प्रयत्न गरिरहेका छन्। ट्रम्पले वार्ता सकारात्मक रहेको पनि बताएका छन्। उनले भने, ‘इरानले वार्ताप्रति गम्भीर रहेको देखाउन होर्मुज स्ट्रेटबाट ८ वटा ठूला जहाजलाई जान अनुमति दिएको छ।’

ती आठवटै जहाजमा पाकिस्तानको झण्डा लागेको थियो। पछि इरानले थप दुई जहाजलाई पनि जान अनुमति दिएको ट्रम्पले बताए। यसअघि इरानी विदेशमन्त्री अब्बास अराग्चीले इरानले चीन, रुस, भारत, इराक र पाकिस्तान जस्ता मित्र राष्ट्रहरूका लागि होर्मुज स्ट्रेटको बाटो खुला गरिरहेको जानकारी दिएका थिए।

अमेरिका र इरानबीचको तनाव कम गर्न पाकिस्तानले मध्यस्थकर्ताको भूमिका निभाउन सक्ने संकेत देखिएको छ। पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले मध्यपूर्वमा जारी युद्ध अन्त्यका लागि वार्ताको पूर्ण समर्थन गर्ने बताएका छन्। ट्रम्पले शरीफको सोही बयानलाई आफ्नो सामाजिक सञ्जालमा सेयर गरेपछि अमेरिका पनि पाकिस्तानको मध्यस्थताका लागि तयार रहेको अनुमान गरिएको छ।

ट्रम्पको घोषणापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा केही गिरावट आएको छ। ब्रेन्ट क्रूड फ्युचर्स प्रति ब्यारेल करिब १०८ डलरमा बन्द भएकोमा ट्रम्पको पोस्टपछि १ डलर जति घटेको थियो। तर, अमेरिकी शेयर बजारमा भने गिरावट देखिएको छ। विशेषगरी प्रविधि कम्पनीहरूको शेयर ओरालो लागेको छ।