• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

डाक्टर जोडीको प्रेमगीत ‘सँधै साथमा तिम्रो’ सार्वजनिक

काठमाडौँ ।अमेरिकाको व्यस्त अस्पताल जीवनबीच पनि दुई नेपाली चिकित्सकको मन भने संगीतमा धड्किरहेकै थियो । यही धड्कनले जन्म दिएको छ एउटा रोमान्टिक सिर्जना,‘सधैं साथमा तिम्रो’ ।

चिकित्सक पेशामा आबद्ध सुपेश बस्नेत र रेहा पोखरेलले आफ्नो वास्तविक जीवनको प्रेम यात्रालाई संगीतमा उतार्दै यो गीत सार्वजनिक गरेका हुन् । उनीहरुको यस गीत केवल मनोरञ्जन मात्र होइन, उनीहरूको जीवनकथाको संवेदनशील अभिव्यक्ति पनि हो । ‘दुई मुटु, एक यात्रा’ भन्ने भावनात्मक थिममा आधारित यस गीतले दूरी, समय र जिम्मेवारीबीच पनि अटुट रहने प्रेमको कथा व्यक्त गरेको छ ।

गीतमा सुपेशकै स्वर गुन्जिएको छ भने गोविन पुनको शब्द र संगीतले प्रेमलाई अझ जीवन्त बनाएको छ । दिनेश श्रेष्ठको एरेन्जमेन्टले गीतलाई सुमधुर स्पर्श दिएको छ । भिडियोमा सुपेश र रेहाले आफ्नै भूमिकामा अभिनय गरेका छन् । यसले कथालाई झनै वास्तविक र आत्मीय बनाउन पुगेको छ ।

तीन फरक देश-अमेरिका, अष्ट्रेलिया र न्यूजिल्याण्डका रमणीय दृश्यहरूमा छायांकन गरिएको भिडियोले प्रेमलाई भौगोलिक सीमाभन्दा माथि उठाएर प्रस्तुत गर्छ । अस्पतालको व्यस्त दिनचर्याबाट सुरु हुने दृश्यहरूले उनीहरूको पेशागत जीवन र व्यक्तिगत सम्बन्धबीचको सन्तुलनलाई कलात्मक रूपमा देखाउँछ ।

विक्रान्तमान श्रेष्ठ र क्रिस्टिना बसिस्टको निर्देशनमा तयार भएको भिडियोमा साहिल खानको सम्पादन र प्रविण श्रेष्ठको पटकथा छ । छायांकन अष्ट्रेलियामा सौरभ मानन्धर, न्यूजिल्याण्डमा यूरिका फिल्म्स प्रालि र अमेरिकामा पशुपति बस्यालले गरेका हुन् ।

महँगो लागतमा तयार पारिएको यस परियोजनाबारे सुपेश भन्छन्, “यो हाम्रो लागि केवल गीत होइन, भावनाको अभिव्यक्ति हो । पैसाभन्दा पनि संगीतप्रतिको प्रेमले हामीलाई यो सिर्जना गर्न प्रेरित गर्‍यो ।”

विदेशमा रहेर पनि नेपाली संगीतप्रति समर्पित यो जोडीले व्यस्त चिकित्सा पेशाबीच पनि कला यात्रालाई निरन्तरता दिने अठोट व्यक्त गरेको छ । उनीहरूको यो प्रयासले प्रेमको कथा त सुनाएको छ नै, परदेशमा बसेर पनि आफ्नो संस्कृति र सिर्जनाप्रतिको लगाव जिउँदै राख्न सकिन्छ भन्ने सन्देश दिन समेत सफल भएको छ ।