इरानसँग अमेरिका र इजरायलको युद्धको एक महिना पूरा भइसकेको छ । योसँगै मध्यपूर्वको वर्तमान संकट अझै व्यापक बन्दै जाने पो हो कि भन्ने चिन्ता बढ्दै गएको छ ।
यस युद्धले केवल इरानलाई मात्र प्रभावित गरेको छैन । इरानसँगै दर्जनौँ देशहरूमा सिधा असर परिरहेको छ।
युएई, इराक, बहराइन, कुवेत, साउदी अरब, ओमान, अजरबैजान, कब्जामा रहेको वेस्ट बैंक, साइप्रस, सिरिया, कतार र लेबनान प्रत्यक्ष असर खेपिरहेका मुलुकहरूमध्येका हुन् ।
यसबाहेक, यस युद्धको अप्रत्यक्ष असर नभोग्ने सायदै कुनै मुलुक छन् ।
यस्तोमा, वर्तमान संघर्ष क्षेत्रीय युद्धभन्दा अगाडि बढेर विश्व युद्ध मै परिणत त हुने हैन भनेर धेरै मानिस चिन्तित देखिन्छन् ।
विश्व युद्ध निम्तिने परिस्थितिहरू
बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा अन्तर्राष्ट्रिय इतिहासकी प्रोफेसर एमेरिट्स मार्गरेट म्याकमिलन युद्धका सम्बन्धमा आम मानिसको बुझाई र यथार्थ फरक हुने बताउँछिन् ।
म्याकमिलन भन्छिन्, “युद्धहरू धेरै योजनाबद्ध तरिकाले हुन्छन् र युद्धमा संलग्न देशहरूलाई त्यसबारे पूर्ण रूपमा पत्तो हुन्छ भनेर आम मानिस सोच्ने गर्छन्, तर यदि तपाईँ विगतका युद्धहरू हेर्नुहुन्छ र खास गरी पहिलो विश्व युद्ध हेर्दा, त्यति बेला जे भयो त्यो अचानक भयो र विरोधी देशहरूबिचको मिसअन्डर्सट्यान्डिङको कारणले गर्दा भयो ।”
म्याकमिलन अस्ट्रिया-हंगेरीका सम्राट् फ्रान्ज जोसेफका भतिजा आर्चड्युक फ्रान्ज फर्डिनान्डको हत्याले १९१४ मा पहिलो विश्व युद्ध सुरु गराउने घटनाहरूको कारकको भूमिका खेलेको बताउँछिन् ।
केही हप्तामै गठबन्धनहरूको एक समूहले सम्पूर्ण युरोपलाई यस संघर्षमा तानेको थियो । अस्ट्रिया-हंगेरीले सर्बियाविरुद्ध कदम उठायो । त्यसपछि जर्मनीले अस्ट्रियाको र रुसले सर्बियाको समर्थनमा सैन्य तयारी गरे ।
उता फ्रान्सले रुसको साथ दियो र बेलायत पनि आत्मसम्मान र रणनीति दुवैका नाममा युद्धमा होमिन पुग्यो ।
म्याकमिलन भन्छिन्, “त्यसपछि जे-जे भयो त्यसले विश्वव्यापी विनाश निम्त्यायो ।”
किङ्स कलेज लन्डनका अन्तर्राष्ट्रिय इतिहासका प्रोफेसर जो माइलोको बुझाइमा विश्व युद्ध तब हुन्छ, जब सबै प्रमुख शक्तिहरू त्यसमा संलग्न हुन्छन् ।
माइलोले भने, “पहिलो विश्व युद्धमा यी शक्तिहरू युरोपेली साम्राज्यवादी शक्तिहरू थिए । दोस्रो विश्व युद्धमा अमेरिका, जापान र चीन थिए ।”
धेरै मानिस आज मध्यपूर्वको तनावलाई मुख्यतः क्षेत्रीय समस्या मान्छन् । तर के यो तनाव क्षेत्रीय तहबाट विश्व युद्धसम्मै बढ्ने अवस्थाहरू छन् ?
फेब्रुअरीमा बीबीसीलाई दिएको एक अन्तर्वार्तामा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पहिले नै तेस्रो विश्व युद्ध सुरु गरिसकेको दाबी गरेका थिए ।
जेलेन्स्कीले भनेका थिए, “मलाई लाग्छ पुटिनले यो पहिले नै सुरु गरिसकेका छन् । उनले कति क्षेत्र कब्जा गर्न सक्छन् र उनलाई कसरी रोक्ने भन्ने मूल प्रश्न हो । रुस विश्वमा फरक प्रकारको जीवन थोपर्न चाहन्छ र मानिसहरूले आफ्नै लागि रोजेको जीवन पनि परिवर्तन गराउन चाहन्छ ।”
तेस्रो विश्व युद्धको जोखिम
अहिले तेस्रो विश्व युद्ध हुने जोखिम कति छ भन्ने प्रश्नमा म्याकमिलन भन्छिन्, “मलाई लाग्छ यसलाई बढाउन सक्ने देश सम्भवतः इरान हो, वा इरानका सहयोगीहरू, जस्तै यमनमा हूती ।”
म्याकमिलनका अनुसार समुद्री मार्गहरूलाई लक्षित वा होर्मुज जलमार्गहरू बन्द गर्ने जस्ता इरानका सम्भावित कदमहरूले विश्वव्यापी प्रभाव पार्न सक्छ । यसले ऊर्जा आपूर्ति अवरुद्ध गर्न सक्छ र प्रमुख शक्तिहरूलाई युद्धसम्मै तान्न सक्छ ।
अमेरिकाको संलग्नताले पनि स्थितिलाई जटिल बनाउन सक्ने म्याकमिलनको भनाई छ । इरान, इजरायल र अमेरिकाबाहेक अन्य देशहरू प्रत्यक्ष रूपमा संलग्न नभए पनि आर्थिक वा रणनीतिक रूपमा प्रभावित हुने उनको तर्क छ ।
“एक क्षेत्रमा भएको संघर्षले पक्कै पनि अन्य क्षेत्रमा तनाव उत्पन्न गर्छ,” उनी भन्छिन्, “उदाहरणका लागि, मध्यपूर्वमा व्यस्त पश्चिमले चीनलाई ताइवानमाथि कदम चाल्ने अवसर प्रदान गर्छ वा रुसले युक्रेनमा आफ्नो कारबाही तीव्र बनाउन सक्छ, किनभने विश्वको ध्यान अहिले अन्यत्रै छ ।”
प्रोफेसर माइलो भने यो संघर्ष क्षेत्रीय नै रहने र यसमा गल्फ कोअपरेशन काउन्सिलका देशहरू संलग्न हुन सक्छन् । तर उनी चीन र रुस यस युद्धमा सामेल हुने सम्भावना देख्दैनन् ।
उनले भने, “विश्वमा केही हुन्छ र चीन ताइवानमाथि झम्टिन्छ भन्ने बुझाई पूर्ण रूपमा काल्पनिक हो । विश्व युद्धमा चीन वा रुसको प्रत्यक्ष रूपमा संलग्न हुने कुनै इच्छा देखिँदैन र अझ युरोपको सम्भावना त स्पष्ट रूपमा कम छ ।”
उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको कूटनीतिका लागि चीनको आफ्नै रणनीति रहेको बताउँछन् । उनी भन्छन्, “चीनको रणनीति स्पष्ट छ, जब तपाईँको प्रतिद्वन्द्वी ठूलो रणनीतिक गल्ती गरिरहेको हुन्छ, उसलाई त्यसै गर्न दिनुहोस्।”
तर तेलको मूल्यमा उतारचढावले चीनलाई पनि असर गर्छ । यस्तोमा कूटनीतिक पहल अघि नबढाउनु चीनका लागि फाइदाजनक रहला छ ?
यसको उत्तरमा प्रोफेसर माइलो भन्छन्, “रणनीतिक प्राथमिकताहरूमा अमेरिका मध्यपूर्वमा अल्झिनु चीनका लागि तेलभन्दा धेरै फाइदाजनक छ ।”
नेतृत्वको भूमिका
म्याकमिलन इतिहासमा युद्धहरू प्रायः अहंकार, सम्मान वा विरोधीको डरका कारण सुरु भएको बताउँछिन् । तर नेताहरूको व्यक्तिगत कुराहरूले पनि घटनाको दिशा तय गर्न सक्ने उनको धारणा छ ।
जसको उदाहरण दिँदै उनी भन्छिन्, “पहिलो विश्व युद्धमा फ्रान्सका प्रधानमन्त्री क्लेमोन्सो शान्ति स्थापना गर्नु युद्ध गर्नु भन्दा गाह्रो हुन्छ भन्ने गर्दथे ।”
म्याकमिलनका बुझाइमा प्रायः जब धेरै क्षति भइसकेको हुन्छ वा धेरै मानिसहरू मारिन्छन्, तब जित्नका लागि युद्ध जारी राख्नुपर्छ भन्ने निर्णयमा नेताहरू पुग्ने गर्छन् ।”
उनले पुटिनतर्फ संकेत गर्दै थप भनिन्, “पुटिनले युक्रेनमाथि आक्रमण गर्ने निर्णय गरेर स्पष्ट रूपमा ठूलो गल्ती गरेका छन् । चार वर्षअघि आक्रमण सुरु गरेपछि पुटिनले उनको लक्ष्य युक्रेनलाई नि-स्त्रीकरण र डी-नाजिफिकेशन गर्नु रहेको बताउने गरेका बताएका थिए, तर चार वर्षपछि पनि रुस सैन्य लक्ष्यहरू अझै पूरा भएका छैनन् भनेर भनिरहेको छ ।”
बेलायतको रक्षा मन्त्रालयका अनुसार युक्रेनसँगको युद्धका कारण हालसम्म रुसतर्फ मात्रै कुल साढे १२ लाख हताहती भइसकेको छ ।
यो संख्या दोस्रो विश्व युद्धमा अमेरिकाको कुल हताहती भन्दा पनि बढी हो ।
म्याकमिलन थप्छिन्, “असफलता स्वीकार गर्न वा पछि हट्न अस्वीकार गर्ने नेताहरूले संघर्षलाई लामो र व्यापक बनाउन सक्छन् । विगतमा एडल्फ हिट्लरजस्ता नेताहरूले हार निश्चित भएपछि पनि युद्ध जारी राखेका थिए, जुन विचारधारा, अहंकार वा भ्रमका कारण प्रेरित थियो ।”
तनाव घटाउने उपायहरू
म्याकमिलन तनाव कम गर्न कूटनीति अत्यन्त आवश्यक रहेको बताउँछिन् ।
“तपाईँले अर्को पक्षलाई बुझ्नुपर्छ र उनीहरूसँग सम्पर्कमा रहनुपर्छ, त्यसले मात्र तनाव घटाउन सक्छ,” म्याकमिलन भन्छिन् ।
शीत युद्धको अन्तिम चरणमा र नेटोको संलग्नतासँगै सबै पक्षहरूबिच संवाद सुधारिएकै कारण त्यसले तनाव घटाएको उनको तर्क छ ।
जब ठूला शक्तिहरू संलग्न हुन्छन्, तब तनाव कम गर्ने नीतिमा परमाणु हतियारहरूको उपस्थिति सधैँ महत्त्वपूर्ण कारक रहने गरेको म्याकमिलनको धारणा छ ।
म्याकमिलनसँग सहमति जनाउँदै प्रोफेसर माइलो भन्छन्, “इजरायल, अमेरिका र इरानबिच यो बुझ्न आवश्यक छ कि उनीहरू आफ्नो उपलब्धिको सीमामा पुगिसकेका छन् ।”
युद्ध जारी रहँदा कुनै पनि पक्षले “चाहिएको परिणाम” प्राप्त गर्न नसक्ने उनको भनाइ छ ।
“प्रतिबन्ध हटाउने, केही सुरक्षा व्यवस्था गर्ने र विश्व राजनीतिमा इरानको भूमिकाबारे समझदारी बनाउनुपर्ने आवश्यकता देखिन्छ,” प्रोफेसर माइलो भन्छन्, “केवल मध्यस्थतामार्फत मात्र युद्ध रोक्न सकिन्छ र त्यसपछि यसलाई स्थायी व्यवस्थामा रूपान्तरण गर्न सकिन्छ ।”
(बीबीसीबाट)