• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

काठमाडौंको ट्राफिक व्यवस्थापनमा सुधारको संकेत : कारबाही घट्दै, अनुशासन बढ्दै

काठमाडौं । राजधानी काठमाडौंमा ट्राफिक व्यवस्थापन सुधार गर्ने प्रयासहरू तीव्र बन्दै गएका छन् । बढ्दो सवारी चाप, साँघुरा सडक र नागरिकको कमजोर ट्राफिक अनुशासनबीच पनि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले प्रविधि, जनचेतना र कडाइको संयोजनमार्फत केही हदसम्म सुधार भएको देखाएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीका अनुसार विगतको तुलनामा अहिले ट्राफिक व्यवस्थापनमा उल्लेखनीय सुधार देखिएको छ ।

उनले ट्राफिक प्रहरीलाई थप अनुशिक्षण, जनचेतनामूलक कार्यक्रम र आधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकतामा राखिएको जानकारी दिए । साथै, ट्राफिक सप्ताह जस्ता कार्यक्रमहरू सञ्चालन गरिँदै आएको बताए । जसले आम नागरिक तथा सडक प्रयोगकर्तामा ट्राफिक नियमप्रति सचेतना बढाएको छ।

विद्यालय–केन्द्रित कार्यक्रम, चालक तथा मजदुर शिक्षा, समुदायस्तरमा गरिने ट्राफिक अवेयरनेस कार्यक्रमहरूले पनि सकारात्मक प्रभाव पारिरहेको उनले बताए ।

शून्य सहनशीलताको नीति

ट्राफिक नियम उल्लंघनका मामिलामा प्रहरीले ‘शून्य सहनशीलता’ नीति अवलम्बन गरेको छ । लेन अनुशासन तोड्ने, ट्राफिक लाइट उल्लंघन गर्ने, ओभरस्पिड गर्ने, मादक पदार्थ सेवन गरेर सवारी चलाउने (मापसे) तथा ड्रग्स सेवन गरेर ड्राइभ गर्नेहरूलाई कडाइका साथ कारबाही गरिँदै आएको छ ।

अधिकारीका अनुसार ट्राफिक प्रहरी कर्मचारीहरू निरन्तर सडकमा खटिएका छन् र ‘रोडमै उपस्थित भएर नियम कार्यान्वयन’ गर्ने रणनीति अपनाइएको छ । यसले सडक अनुशासन कायम गर्न महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ ।

प्रविधिको प्रयोगमा वृद्धि

आधुनिक प्रविधिको प्रयोगले ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाएको छ । अहिले एएनपीआर (अटोमेटिक नम्बर प्लेट रिगनाइजेशन)क्यामेरा प्रयोग गरी सवारी साधनको नम्बर प्लेट स्वतः पहिचान गरेर कारबाही गर्ने व्यवस्था गरिएको छ ।

त्यसैगरी, सीसीटिभी क्यामेराबाट कन्ट्रोल रुममै बसेर ट्राफिक उल्लंघन निगरानी गर्ने, राडार गनमार्फत स्पिड जाँच गर्ने, तथा ब्रेथलाइजर मेसिनबाट मापसे परीक्षण गर्ने कार्यलाई थप कडाइका साथ लागू गरिएको छ । ट्राफिक प्रहरीले प्रविधिको प्रयोगबाट ‘अनस्पट कारबाही’ प्रणालीलाई समेत प्रभावकारी बनाएको जनाएको छ ।

कारबाही घट्नु सकारात्मक संकेत

अधिकारीका अनुसार पछिल्लो समय ट्राफिक कारबाहीको संख्या घट्दो क्रममा रहेको छ । तर उनले यसलाई कमजोरी नभई सकारात्मक संकेतका रूपमा व्याख्या गरे ।

उनले भने,‘सवारी साधनको संख्या बढी छ, सडक साँघुरो छ, सबैलाई पहिले पुग्नु छ । ‘राइट अफ वे’ के हो, कतिबेला आफ्नो वे हो भन्ने कुरा होइन कि सबैलाई छिटो पुग्ने हतारोले गर्दा केही चालकहरु कारबाहीमा पर्ने, अनावश्यक पिक एण्ड ड्रपहरु गर्ने गर्छन । तथापी, पहिलेको तुलनामा कारबाहीको रेसियो थोरै कम भएको छ । हाम्रो लक्ष्य जरिवाना उठाउनु होइन, सडक अनुशासन कायम गर्नु हो । भने, कारबाही घट्नुको अर्थ नियम उल्लंघन पनि घट्दै गएको हो ।’

तर गम्भीर र बारम्बार नियम उल्लंघन गर्ने चालकका हकमा भने कडा कदम चालिँदै आएको छ । पटक–पटक उल्लंघन गर्ने चालकको लाइसेन्स खारेजका लागि सिफारिस गर्ने नीति पनि लागू गरिएको छ ।

‘ज्यान नै जोखिममा हुनेगरी अर्काको पनि जोखिममा हुने आफ्नो पनि जोखिममा हुनेगरी चलाउने र पटक–पटक कारबाहीमा परेका व्यक्तिहरुको लाइसेन्स नै खारेजको लागि सिफारिस समेत गरेर पठाउछौं । अवस्था हेरेर १० पटक कट्यो भने खारेज नै हामी गर्छौं,’ उनले भने ।

पूर्वाधार सुधारमा ध्यान

उनका अनुसार ट्राफिक व्यवस्थापनलाई सुधार गर्न पूर्वाधार विकासमा पनि ध्यान दिइएको छ । ट्राफिक लाइट सञ्चालन संख्या ४२ बाट बढाएर ५३ पुर्‍याइएको छ । यसका साथै सडकमा ‘किप क्लियर’ क्षेत्र, स्टप लाइन, रोड मार्किङ तथा लेन व्यवस्थापनलाई थप व्यवस्थित बनाउने काम भइरहेको छ ।

महानगरपालिकासँग सहकार्य गरेर पिक एण्ड ड्रप स्टेशनहरू व्यवस्थापन गर्ने र यातायात व्यवस्था विभागसँग समन्वय गर्दै सवारी व्यवस्थापनलाई व्यवस्थित बनाउने प्रयास भइरहेको उनले जानकारी दिए ।

उनले भने, ‘अहिले ट्राफिक लाइट व्यवस्थापनमा ध्यान दिएका छौं । जेनजी आन्दोलन भन्दा अगाडि ७४ मध्ये ४२ वटा लाइट चल्थ्यो भने अहिले ५३ वटा अपरेसनमा ल्याइसकेका छौं । विभिन्न ठाउँमा किप क्लियर बनाउने अनि रोड मार्किंगहरुलाई बढाउँदै लगेका छौं । स्टप लाइनहरुलाई व्यवस्थित गरेका छौं । महानगरपालिका, यातायात व्यवस्था विभागसँग समन्वय गरेर धेरै काम गरेका छौं । विदेशी ट्राफिक विज्ञहरु समेत बोलाएर वर्कसप गरेका छौं ।’

एकीकृत बसपार्क प्रणाली लागू गर्ने योजना पनि अगाडि बढाइएको छ । यसले जथाभावी पार्किङ र टिकट काउन्टर राख्ने प्रवृत्ति अन्त्य गर्दै ट्राफिक जाम घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

चुनौतीहरू यथावत

यद्यपि, सुधारका प्रयासबीच पनि चुनौतीहरू भने अझै जटिल छन् । काठमाडौंमा सवारी साधनको संख्या तीव्र गतिमा बढिरहेको छ भने सडक संरचना त्यही अनुपातमा विस्तार हुन सकेको छैन ।

विशेषगरी दुईपाङ्ग्रे सवारी साधनको अनियन्त्रित वृद्धि ट्राफिक व्यवस्थापनका लागि ठूलो चुनौती बनेको उनी सुनाउँछन् । उनको अनुसार ट्राफिक नियम उल्लंघनमा पनि दुईपाङ्ग्रे चालक नै बढी देखिएका छन् । दुर्घटनाको जोखिम पनि यही वर्गमा उच्च रहेको अधिकारीको भनाइ छ ।

सार्वजनिक सवारी साधनको लापरवाहीपूर्ण सञ्चालन, अव्यवस्थित पार्किङ र अनावश्यक पिक एण्ड ड्रपले पनि ट्राफिक जाम बढाउने प्रमुख कारणका रूपमा देखिएको छ ।

नागरिकको व्यवहार मुख्य समस्या

ट्राफिक व्यवस्थापनमा नागरिकको व्यवहार पनि महत्वपूर्ण पक्ष रहेको अधिकारीले बताए । उनले आकासे पुल हुँदाहुँदै सडकबाटै बाटो काट्ने, जेब्रा क्रसिङको बेवास्ता गर्ने, ट्राफिक लाइट उल्लंघन गर्ने र हेल्मेट नलगाउने प्रवृत्तिलाई गम्भीर समस्या भएको बताए ।
मोडिफाइड बाइक चलाएर ध्वनि प्रदूषण गर्ने तथा नियम उल्लंघनलाई ‘उपलब्धि’ जस्तो ठान्ने प्रवृत्ति समाजमा बढ्दै गएको भन्दै उनले यसलाई ‘सडक संस्कारविरुद्धको गतिविधि’ बताएका छन् ।

बाइक चोरी पनि चिन्ताको विषय

काठमाडौं उपत्यकामा दुई पाङ्ग्रे सवारी साधन(मोटरसाइकल/स्कूटर) चोरीका घटनाहरू पनि चुनौतीका रूपमा रहेका छन् । प्रहरी तथ्यांकअनुसार भदौदेखि चैतसम्म १७३६ वटा चोरी भएका छन् । तीमध्ये करिब ४०० भन्दा बढी फेला पारेर सम्बन्धित धनीलाई बुझाइएको छ ।

चोरी रोक्नका लागि प्रहरीले जीपीएस ट्र्याकिङ सिस्टम जडान गर्न, अतिरिक्त लक प्रयोग गर्न र सुरक्षित पार्किङ गर्न नागरिकलाई सुझाव दिएको छ ।

समन्वय र प्रतिबद्धता

ट्राफिक व्यवस्थापन सुधारका लागि विभिन्न निकायबीच समन्वय आवश्यक रहेको अधिकारीले बताए । उपत्यका प्रहरी कार्यालय, जिल्ला प्रहरी परिसर तथा अन्य सरोकारवाला निकायहरूसँग सहकार्य गर्दै ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाइँदै आएको उनले बताए ।

उनका अनुसार अन्तर्राष्ट्रिय ट्राफिक विज्ञहरूको सहभागितामा कार्यशाला आयोजना गरी नयाँ उपायहरूबारे छलफल गरिएको छ र प्राप्त सुझावहरू कार्यान्वयनको चरणमा रहेका छन् ।

ट्राफिक व्यवस्थापन सुधारका प्रयासहरूले सकारात्मक संकेत देखाउन थालेका छन्। प्रविधिको प्रयोग, कडाइका साथ नियम कार्यान्वयन र जनचेतना अभियानले ट्राफिक अनुशासनमा सुधार ल्याएको छ ।

तर दीर्घकालीन समाधानका लागि नागरिकको व्यवहारमा परिवर्तन, पूर्वाधार विस्तार र प्रभावकारी नीति कार्यान्वयन अपरिहार्य देखिन्छ ।

ट्राफिक प्रहरीको प्रयाससँगै नागरिकको जिम्मेवारीपूर्ण सहभागिता भए मात्र राजधानीको ट्राफिक समस्या दीर्घकालीन रूपमा समाधान हुन सक्ने देखिन्छ ।