जनकपुर । महोत्तरीको जलेश्वर सम्सी सडकखण्डमा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको छ । दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएको मधेश प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।
दुवै मोटरसाइकलमा तीन/तीन जना सवार रहेको थिए । मोटरसाइकल एक आपसमा ठोक्किएपछि मोटरसाइकलमा आगो लागेको थियो । दुर्घटनास्थलमा मृत्यु भएको तीनै जनाको शव जलेको छ ।
मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार दुर्घटनामा मृत्यु हुनेमा महोत्तरीको जलेश्वर नगरपालिका वडा नं. ६ का २० वर्षीय रवी दास, सोही स्थानका २० वर्षीय सुवास दास र उमेर नखुलेको महोत्तरीको एकडारा गाउँपालिका वडा नं. ३ का अभिषेक मण्डल रहेका छन् ।
त्यस्तै, घाइते हुनेहरुमा महोत्तरीको जलेश्वर नगरपालिका वडा नं. ६ धबौलीका १९ वर्षीय रोहित दास, सोही स्थानका १९ वर्षीय अभय कापर र एकडारा गाउँपालिका गेना बथनाहाका २० वर्षीय अजय ठाकुर रहेका छन् । उनीहरुको जलेश्वर अस्पतालमा उपचार भइरहेको छ ।
घटना कसरी भयो भन्ने यकिन हुन सकेको छैन । मोटरसइकल आगोले पूर्ण रुपमा जलेका कारण मोटरसाइकलको नम्बर पनि खुल्न सकेको छैन ।