• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

इरान र अमेरिकाबीच दुई साताका लागि युद्धविराम, स्ट्रेट अफ होर्मुज खोल्ने सहमति

काठमाडौं । पाकिस्तानको मध्यस्थतापछि अमेरिका र इरान दुई हप्ताको युद्धविरामका लागि सहमत भएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गरिने भनिएको बमबारी र आक्रमणलाई दुई हप्ताका लागि रोक्न आफू तयार भएको घोषणा गरेका छन्।

राष्ट्रपति ट्रम्पले तय गरेको इरानमाथिको ‘विनाशकारी हमला’ को समयसीमा (डेडलाइन) सकिनुभन्दा केही समयअघि पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले यो युद्धविराम तत्काल लागू भएको घोषणा गरेका थिए।

राष्ट्रपति ट्रम्पका अनुसार यो युद्धविराम दुईतर्फी हुनेछ। उनले भनेका छन्, “यदि इरानले होर्मुज स्ट्रेटबाट जहाजहरूको आवतजावत सुरक्षित र तुरुन्तै खोल्न सहमत हुन्छ भने मात्र म दुई हप्ताका लागि बमबारी रोक्न सहमत छु।”

ट्रम्पले अमेरिकाले आफ्ना सबै सैन्य उद्देश्यहरू प्राप्त गरिसकेको र इरानसँग दीर्घकालीन शान्ति सम्झौताको नजिक पुगेको दाबी समेत गरेका छन्। उनका अनुसार इरानले १० बुँदे प्रस्ताव पठाएको छ, जसलाई वार्ताको आधार मानिएको छ।

इरानका विदेशमन्त्री अब्बास अराग्चीले पनि यदि इरानमाथिका आक्रमणहरू रोकिएमा आफूहरू युद्धविरामका लागि तयार रहेको बताएका छन्। उनले दुई हप्ताको समयमा होर्मुज स्ट्रेटबाट जहाजहरूको सुरक्षित आवागमन सम्भव हुने स्पष्ट पारेका छन्।

इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषदले यस सम्झौताको विस्तृत विवरणलाई अन्तिम रूप दिन आगामी १५ दिनभित्र पाकिस्तानको राजधानी इस्लामावादमा वार्ता हुने जानकारी दिएको छ।

इरानले युद्धविरामका लागि केही महत्त्वपूर्ण सर्तहरू राखेको छ। इरानविरुद्ध पुनः आक्रामक कारबाही नगर्ने ग्यारेन्टी, होर्मुज स्ट्रेटमा इरानकै नियन्त्रण कायम रहने, इरानको युरेनियम संवर्द्धन अधिकार स्वीकार गर्नुपर्ने, इरानमाथि लगाइएका सबै प्रतिबन्धहरू हटाउनुपर्ने, युद्धबाट भएको क्षतिको क्षतिपूर्ति दिनुपर्ने, यस क्षेत्रबाट अमेरिकी लडाकु बल फिर्ता हुनुपर्ने, लेबनानसहित सबै मोर्चामा युद्ध रोक्नुपर्नेलगायतका शर्त इरानको छ।

यसअघि ट्रम्पले इरानलाई चेतावनी दिँदै मंगलवार रातभित्र सम्झौता नभए इरानका हरेक पुल र पावर प्लान्टहरू ध्वस्त पारिदिने धम्की दिएका थिए। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ र फिल्ड मार्शल असिम मुनिसँगको कुराकानीपछि ट्रम्प यो सैन्य कारबाही तत्कालका लागि स्थगित गर्न राजी भएका हुन्।