• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

होर्मुज कसरी बन्यो इरानको सबैभन्दा शक्तिशाली हतियार ?

इरान, अमेरिका र इजरायलबीच ४० दिनसम्म चलेको युद्धपछि एउटा अचम्मको निष्कर्ष बाहिर आएको छ। इरानको सबैभन्दा प्रभावकारी शक्ति उसको परमाणु क्षमतामा नभई रणनीतिक रूपमा महत्त्वपूर्ण ‘होर्मुज स्ट्रेट’ लाई अवरुद्ध गर्ने क्षमतामा हुन सक्छ।

सुरुदेखि नै यो युद्धलाई इरानमा सत्ता परिवर्तनको प्रयासका रूपमा हेरिएको थियो र यसका लागि महत्त्वपूर्ण ठेगाना र नेताहरूलाई निशाना बनाएर भारी बमबारी गरियो।
इरानले जवाफमा अमेरिकाका खाडी सहयोगी राष्ट्रहरूमा मिसाइल र ड्रोन आक्रमण गर्‍यो, तर संघर्ष बढ्दै जाँदा उसले आफ्नो ध्यान त्यो साँघुरो समुद्री मार्गमा केन्द्रित गर्‍यो जसले फारसको खाडीलाई विश्व बजारसँग जोड्छ।

यस कदमले अमेरिका र उसका ती सहयोगीहरूमा तुरुन्तै भारी दबाब सिर्जना गर्‍यो, जो होर्मुज स्ट्रेटबाट हुने तेल र ग्यासको निर्बाध आपूर्तिमा निर्भर छन्। इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) का अधिकारीहरूले स्वीकार गरेका छन् कि यो महत्त्वपूर्ण मार्गमा नियन्त्रण स्थापित गर्दा परम्परागत सैन्य कारबाहीभन्दा बढी रणनीतिक फाइदा हुन सक्छ।

विश्वव्यापी ऊर्जा आपूर्तिलाई जोखिममा पारेर इरानले वासिङ्टनलाई आफ्नो रणनीतिमा पुनर्विचार गर्न बाध्य तुल्यायो। अन्ततः युद्धविराम वार्ताको सर्तका रूपमा यो जलमार्गलाई पुनः खोल्नु र यसको सुरक्षा सबैभन्दा ठूलो प्राथमिकता बन्यो।

यद्यपि इरानले पहिले पनि आक्रमणको स्थितिमा होर्मुज स्ट्रेट बन्द गर्ने धम्की दिँदै आएको थियो, तर यसअघि यसलाई पूर्ण रूपमा कहिल्यै बन्द गरिएको थिएन। सन् १९८०-१९८८ को इरान-इराक युद्धका बेला तेल ट्याङ्करहरूमा आक्रमण हुँदा पनि यो बन्द गरिएको थिएन।

अहिले केही इरानी कमान्डर र अधिकारीहरू होर्मुज स्ट्रेटमा देशको नियन्त्रणको भविष्यबारे छलफल गरिरहेका छन्। इरानको संसद, विशेषगरी उसको नेसनल सेक्युरिटी काउन्सिलले त्यहाँबाट गुज्रने जहाजहरूमा शुल्क लगाउने प्रस्ताव पनि तयार गरेको छ।

एक सांसदले सुझाव दिएका छन् कि इरानले होर्मुज स्ट्रेटबाट जाने प्रति तीन ब्यारेल तेलमा एक डलर असुल्न सक्छ।

युद्धविरामपछि इरानी सरकारी मिडियाले जितको छवि प्रस्तुत गरेका छन्। कुवेतस्थित इरानी दूतावासले पूर्व सर्वोच्च नेताको एउटा भिडियो बाहिर ल्याएको छ, जसको शीर्षक थियो— “जब अल्लाहको मद्दत र जित आउँछ।” यसले इरानभित्र प्रचार गरिएको त्यो सन्देशलाई देखाउँछ कि देशले बाह्य दबाबको सफलतापूर्वक सामना गरेको छ।

आईआरजीसीसँग सम्बन्धित फार्स न्यूज एजेन्सीले भनेको छ, ‘इरानको युद्धविराम योजनामा प्रतिबन्ध हटाउने, युद्धको क्षतिपूर्ति र अमेरिकी सैनिकहरूको फिर्ती समावेश छ।’ इरानका वरिष्ठ अधिकारीहरूले पनि यही कुरा दोहोर्‍याए। इरानका उपराष्ट्रपतिको बयानमा युद्धविरामलाई ‘खामेनी सिद्धान्त’ को जित भनिएको छ, जसमा अली खामेनीको उल्लेख छ, जो युद्धको सुरुवाती दिनहरूमा मारिएका थिए।

अर्कोतर्फ, आईआरजीसीका पूर्व प्रमुख तथा इरानका नयाँ नेताका सल्लाहकार मोहसिन रजाईले इरानी सेना पूर्ण रूपमा सतर्क रहेको र उसको औंलाहरू ‘ट्रिगरमा रहेको’ चेतावनी दिए। यद्यपि जितका दाबीहरूका पछाडि यथार्थ भने निकै नाजुक छ।

इरानी सेनाले भारी नोक्सानी बेहोरेको छ र उसको अर्थतन्त्र, जुन पहिलेदेखि नै अमेरिका नेतृत्वको प्रतिबन्धको दबाबमा थियो, अहिले अझ खराब भएको छ। संघर्षका क्रममा कम्तीमा १३ जनालाई मृत्युदण्ड दिइएको छ, जसमध्ये धेरैमाथि जासुसीको आरोप थियो र केहीलाई जनवरीमा भएको देशव्यापी प्रदर्शनका क्रममा हिरासतमा लिइएको थियो।

यी कदमहरूले सत्ता संयन्त्रभित्र आन्तरिक असहमतिलाई लिएर गहिरो चिन्ता रहेको र अवस्थामाथि पुनः नियन्त्रण स्थापित गर्ने प्रयास भइरहेको संकेत गर्दछ।

होर्मुज स्ट्रेट पुनः खोल्नु शान्ति वार्ताअघि अमेरिकाको एउटा प्रमुख माग थियो, तर यो प्राप्त गर्न सजिलो देखिएको छैन। रिभोलुसनरी गार्ड कर्प्सको अनुमति बिना हिँड्ने जहाजहरूलाई निशाना बनाएर नष्ट गरिने इरानकाे चेतावनी छ।

ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटका अनुसार राष्ट्रपति ट्रम्पलाई यी ‘अस्वीकार्य’ रिपोर्टहरूबारे जानकारी दिइएको छ, तर उनले यो निजी रूपमा भनिएका कुराहरूभन्दा फरक रहेको बताइन्।

इरानका उप–विदेशमन्त्री सइद खातिबजादेहले बिहीबार इरानले होर्मुज स्ट्रेटबाट सुरक्षित आवागमन सुनिश्चितता गर्ने बताएका थिए । यद्यपि उनले यसलाई पुनः खोल्न तब मात्र सम्भव हुने बताए ‘जब अमेरिका वास्तवमै यो आक्रामकताबाट पछि हट्छ’, जसले सम्भवतः लेबनानमा इजरायली आक्रमणतर्फ संकेत गरेको छ। खातिबजादेहले भने– इरानले अन्तर्राष्ट्रिय मापदण्ड र अन्तर्राष्ट्रिय कानुनको पालना गर्नेछ, उनले यो पनि भने होर्मुज अन्तर्राष्ट्रिय जलक्षेत्रमा पर्दैन र सुरक्षित आवागमन ‘इरान र ओमानको सद्भाव’ मा निर्भर गर्दछ।

होर्मुज स्ट्रेट अन्तर्राष्ट्रिय समुद्री कानुन र संयुक्त राष्ट्र संघीय समुद्री कानुन सन्धिअन्तर्गत सञ्चालित हुन्छ, जसको उद्देश्य नागरिक समुद्री यातायातको सुरक्षित आवागमन सुनिश्चित गर्नु हो।

त्यसोभए इरानले अब के गर्न सक्छ ? वास्तवमा, इरानी संसदमा पेश गरिएको होर्मुज स्ट्रेट नियन्त्रणको प्रस्ताव नौ बुँदामा छ। यसमा एउटा मुख्य प्रावधान छ– ‘शत्रु राष्ट्रका जहाजहरूलाई प्रवेश अनुमति दिइने छैन।’

यसबाहेक, इरानले जहाजहरूलाई मार्ग उपलब्ध गराउने सेवा दिन सक्छ, जसका लागि कम्पनीहरूले इरानी मुद्रामा भुक्तानी गर्नुपर्नेछ र इरानमा बैंक खाता खोल्नुपर्नेछ। जहाजहरूले आफ्नो सामानको विवरण पनि दिनुपर्नेछ। यो एउटा जटिल प्रस्ताव हो । यदि इरानले होर्मुज स्ट्रेटबाट गुज्रने जहाजहरूमा शुल्क लगाउँछ भने, सबैभन्दा ठूलो प्रश्न यो हुनेछ कि के अमेरिका र उसका पश्चिमी तथा क्षेत्रीय सहयोगीहरूले यसलाई स्वीकार गर्नेछन् ?

हालैका प्रतिक्रियाहरूले कडा विरोधको संकेत गर्दछन्, किनभने समुद्री आवागमनको स्वतन्त्रता अमेरिका र उसका साझेदारहरूका लागि एउटा मूल सिद्धान्त हो र कुनै पनि शुल्क प्रणालीलाई खतरनाक नजिरका रूपमा हेरिनेछ। यदि इरान यसमा सफल भयो भने, यो एउटा महत्त्वपूर्ण रणनीतिक र प्रतीकात्मक जित हुनेछ, जसले देखाउनेछ कि विश्वको सबैभन्दा महत्त्वपूर्ण समुद्री मार्गमध्ये एकमा उसले नियन्त्रण राख्न सक्छ।

यद्यपि, जोखिम यो छ कि यस्तो कदम उल्टो पनि पर्न सक्छ र अमेरिकाका सहयोगीहरू, नेटो सदस्यहरू र क्षेत्रीय शक्तिहरूलाई इरानविरुद्ध एकजुट गराउन सक्छ, जसले गर्दा कुटनीतिक, आर्थिक वा सैन्य प्रतिक्रिया समेत हुन सक्छ।

– बीबीसी हिन्दीबाट ।