अमेरिका–इरान शान्ति वार्ता अघि पाकिस्तानको राजधानी इस्लामाबादको सुरक्षा व्यवस्था कडा पारिएको छ । पाकिस्तानी सञ्चार माध्यमहरुका अनुसार इस्लामाबादको राष्ट्रपति भवन, प्रधानमन्त्री कार्यालय र विभिन्न मन्त्रालयहरूसहित प्रमुख प्रशासनिक कार्यालयहरू रहेको क्षेत्र, रेडजोन जाने मार्ग बन्द गरिएको छ ।
इरानमा अमेरिका-इजरायली संयुक्त सैन्य हमला सुरु भएको एक महिनाभन्दा बढी समयपछि मंगलबार घोषणा गरिएको दुई हप्ताको युद्धविरामको कूटनीतिक विन्डोको क्रममा अमेरिका र इरानले शनिबार बिहान वार्ता सुरु गर्ने कार्यक्रम छ । वार्तापूर्व उक्त क्षेत्र शुक्रबार सडक चौबाटोहरूमा सैनिकहरूले चेकजाँच गर्दै र पहरा दिँदै उभिएका छन् । पाकिस्तानी र अन्तर्राष्ट्रिय मिडियाका रिपोर्टरहरू रेड जोनको परिधी क्षेत्रहरूमा भेला भएका छन् ।
पाकिस्तानले वार्तामा भाग लिने प्रतिनिधिहरू र पत्रकारहरूलाई आगमनमा भिसा प्रदान गरेको छ । उच्चस्तरीय शान्ति वार्ताका लागि अमेरिका र इरानका प्रतिनिधिमण्डलहरू पाकिस्तानको इस्लामाबाद पुग्दैछन् ।
अमेरिका र इजरायलले इरानमा गरेको समन्वयात्मक आक्रमणमा सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्यु भएको ठिक ६ हप्तापछि वार्ता हुन लागेको हो ।
जारी द्वन्द्वले हजारौँ मानिस मारिएका छन्, विश्वको सबैभन्दा महत्त्वपूर्ण तेल मार्ग बन्द भएको छ र ऊर्जाको मूल्य अकासिएको छ ।