काठमाडौं । इरानी सभ्यता नै नष्ट पारिदिने धम्की दिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शैली र पाकिस्तानको मध्यस्थतापछि अन्ततः अमेरिका र इरान वार्ताको टेबलमा आमने–सामने छन् । दुई हप्ताको युद्धविराम घोषणापछि शनिबारदेखि पाकिस्तानको इस्लामावादमा निर्णायक वार्ता सुरु हुँदैछ ।
पाकिस्तानले वार्ताका लागि दुवै पक्षका प्रतिनिधिहरूलाई इस्लामावादमा स्वागत गरिसकेको छ । वार्ताको जग र मुद्दाहरू अझै पनि नसुल्झेका बेला यो संवादलाई विश्वले निकै चासोका साथ हेरिरहेको छ ।
को–को छन् वार्ता टोलीमा ?
यसपटकको वार्तालाई ट्रम्पले निकै महत्त्व दिएका छन् । उनले आफ्नोतर्फबाट उपराष्ट्रपति जेडी भान्सलाई कमान सुम्पिएका छन् । भान्सको टोलीमा ट्रम्पका विशेष दूत स्टीभ विटकफ र ज्वाइँ जेरेड कुसनर सामेल छन् ।
इरानको तर्फबाट इरानी संसद्का अध्यक्ष मोहम्मद बगर गालिबाफले वार्ता टोलीको नेतृत्व गर्दैछन् । दुवै टोली शनिबार इस्लामावाद पुगिसकेका छन् ।
ट्रम्पले ‘ट्रुथ सोसल’ मार्फत् इरानबाट १० सूत्रीय प्रस्ताव प्राप्त भएको र त्यसलाई ‘वार्ताको व्यवहारिक आधार’ मानेको बताएका छन् । उता इरानी विदेशमन्त्री अब्बास अरागचीले भने अमेरिकाले १५ सूत्रीय सर्त पठाएको दाबी गरेका छन् । यी दुवै प्रस्ताव औपचारिक रूपमा सार्वजनिक नभए पनि ‘लिक’ भएका विवरणहरूले दुवै पक्षका अपेक्षाहरूमा आकाश–जमिनको अन्तर देखाउँछन् ।
इस्लामावाद वार्ताका मुख्य मुद्दा र चुनौती–
१, परमाणु कार्यक्रमको विवाद
अमेरिकाले इरानमाथि परमाणु हतियार निर्माणको आरोप लगाउँदै यसैलाई युद्धको मूल कारण मान्दै आएको छ । पेन्टागनको दाबी अनुसार पछिल्लो आक्रमणले इरानको परमाणु संरचनामा ठूलो क्षति पुगेको छ । करिब ४४० किलो संवर्धित युरेनियम इस्फहानको भग्नावशेषमुनि दबिएको आशंका गरिएको छ ।
इरानले आफ्ना सबै परमाणु संयन्त्र नष्ट गर्नुपर्ने र युरेनियम संवर्धन पूर्णतः बन्द गर्नुपर्ने अमेरिकी सर्त छ । नागरिक प्रयोगका लागि युरेनियम संवर्धन आणविक अप्रसार सन्धि (एनपीटी) अनुसार आफ्नो अधिकार भएको इरानको अडान छ ।
२, मिसाइल र ड्रोनमाथि प्रतिबन्ध
ट्रम्पको १५ बुँदे प्रस्तावमा इरानको मिसाइल कार्यक्रममाथि कडा प्रतिबन्धको माग गरिएको छ । अमेरिकाले इरानको ८० प्रतिशत मिसाइल क्षमता नष्ट भइसकेको दाबी गर्दै अब उसले ब्यालिस्टिक मिसाइल बनाउन नपाउने र मध्यपूर्वका ‘प्रक्सी’ समूहलाई ड्रोन दिन नपाउने सर्त राखेको छ । विगतमा यसबारे छलफल गर्न समेत नचाहने इरान अहिलेको रक्षात्मक अवस्थामा कति लचिलो होला ? यो मुख्य प्रश्न हो ।
३, होर्मुज स्ट्रेट र तेल मार्गको महसुल
विश्वको महत्वपूर्ण समुद्री मार्ग ‘होर्मुज स्ट्रेट’को नियन्त्रण अर्को पेचिलो मुद्दा हो । इरानले यहाँबाट गुज्रने जहाजहरूबाट प्रतिजहाज २० लाख डलरसम्म शुल्क उठाउने र त्यो राजस्व ओमानसँग बाँड्ने योजना बनाएको चर्चा छ । खाडी मुलुकहरूले यसलाई ‘अस्वीकार्य’ भनेका छन् । ट्रम्पले भने यसको व्यवस्थापन अमेरिका र इरान मिलेर गर्न सक्ने संकेत दिएका छन्, तर यसबारे अन्य ४० देशसँगको छलफल अझै निष्कर्षमा पुगेको छैन ।
४, लेबनान युद्धविरामको अन्योल
पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले यो युद्धविराम लेबनानसहित सबै क्षेत्रमा लागू हुने बताए पनि इजरायल यसमा सहमत छैन । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले लेबनानमा हिजबुल्लाह विरुद्धको आक्रमण जारी रहने प्रष्ट पारेका छन् । ट्रम्पले पनि लेबनानको द्वन्द्वलाई ‘छुट्टै झगडा’ को संज्ञा दिँदै यसलाई इरान सम्झौताबाट अलग राख्न खोजेको देखिन्छ ।
को होला ‘ब्याक’ ?
ट्रम्पका शीर्ष वार्ताकारहरू सहमति जुट्नेमा विश्वस्त छन् । उनीहरूले यो वार्ताबाट सहमति जुट्ने र युद्ध समाप्त हुनसक्ने विश्वास प्रकट गरेका छन् । आधिकारिक तवरबाट अहिलेसम्म दुवै पक्षका प्रस्ताव पेस भइसकेका छैनन् । तर, एकअर्का पक्षले आफूसम्म अनौपचारिक रूपमा पुगेका प्रस्ताव सार्वजनिक गरिसकेका छन् ।
यद्यपि विश्व समुदायमा अझैपनि तमाम संशय भने उठिरहेकै छन् । यूएईका राष्ट्रपतिका एक वरिष्ठ कूटनीतिक सल्लाहकार अनवर गर्गशले बीबीसीसँग भनेका छन् ‘अमेरिका, इरान र पाकिस्तानका विरोधाभाषी बयानले वार्तामा अझै अन्योल कायमै छ । हामीलाई यी बयानका विवरणमा सामञ्जस्यता स्थापित गराउन र सम्झनुपर्ने जरुरी छ, अब अगाडि बढ्ने सही तरिका के हो ?’
– बीबीसीको सहयोगमा ।