• २०८३ साउन २
  • 2026 July 18, Saturday

भारतीय गायिका आशा भोसलेको निधन

काठमाडौँ । भारतीय सङ्गीत आकाशकी उज्ज्वल नक्षत्र एवं प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ।

मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा उपचारका क्रममा उनको निधन भएको चिकित्सकहरूले पुष्टि गरेको समाचार भारतीय सञ्चारमाध्यमहरुले लेखेका छन्। शनिबार राति हृदयाघात भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो।

उनी भारतीय संगीत उद्योगकी एक प्रमुख व्यक्तित्व थिइन् र पार्श्व गायिकाका रूपमा धेरै यादगार गीत गाइन्। आफ्नो सांगीतिक करिअरमा भोसलेले नेपाली गीत पनि थुप्रै गाएकी छन्।

उनले स्वर दिएको ‘यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर’, ‘गैरीखेतको शिरै हान्यो’, ‘मोहनी लाग्ला है’ लगायत थुप्रै गीत हिट छन्।

उनको अन्त्येष्टि सोमबार गरिने जनाइएको छ । बिहान ११ बजे उनको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि निवासमा राखिनेछ भने साँझ ४ बजे शिवाजी पार्कमा अन्त्येष्टि गरिने बताइएको छ ।

सन् १९३३ सेप्टेम्बर ८ मा जन्मिएकी भोसले संगीत परिवारमा हुर्किएकी थिइन् । उनका पिता दीनानाथ मंगेशकर शास्त्रीय गायक तथा कलाकार थिए । सानै उमेरदेखि संगीतमा लागेकी उनले पहिलो गीत मराठी चलचित्र माझा बालमा गाएकी थिइन् । पछि उनले हिन्दी चलचित्रमा पनि प्रवेश गर्दै लामो समयसम्म हजारौं गीतमा स्वर दिइन् ।

पाँच दशकभन्दा बढी समयसम्म सक्रिय रहँदै उनी भारतीय संगीत जगतकी अग्रणी गायिकामध्ये एकका रूपमा स्थापित भएकी थिइन् ।