• २०८३ साउन ५
  • 2026 July 21, Tuesday

युएईद्वारा १२८ नेपाली कैदीलाई आममाफी

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) सरकारले त्यहाँका विभिन्न जेलमा सजाय काटिरहेका १२८ जना नेपाली कैदीहरूलाई आममाफी दिएको छ। मुस्लिम समुदायको पवित्र महिना रमदानको अवसरमा युएई सरकारले ती नेपालीहरूलाई क्षमादान दिने निर्णय गरेको हो।

परराष्ट्र मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै युएई सरकारको यस कदमप्रति उच्च सम्मान र हार्दिक कृतज्ञता व्यक्त गरेको छ। मन्त्रालयका अनुसार मानवीय आधारमा गरिएको यो निर्णयले नेपाल र युएईबीचको द्विपक्षीय सम्बन्धमा रहेको प्रगाढता र सौहार्दतालाई थप बलियो बनाएको छ।

नेपाल सरकारले अबुधाबीस्थित नेपाली दूतावासमार्फत नेपाली कैदीहरूको आममाफीका लागि गरेको अनुरोधलाई सम्बोधन गर्दै युएई सरकारले यो निर्णय लिएको विज्ञप्तिमा उल्लेख छ।

परराष्ट्र मन्त्रालयले यस कार्यको उच्च मूल्यांकन गर्ने पनि उल्लेख गरेको छ ।