काठमाडौं । नेपाली कांग्रेसले गृहमन्त्री सुधन गुरूङमाथि तत्काल छानबिन गर्न माग गरेको छ।
गृहमन्त्रीमाथि लागेका सबै आरोपहरूको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन प्रक्रिया सुरू गर्न कांग्रेसले सरकारलाई आग्रह गरेको हो।
सोमबार प्रवक्ता देवराज चालिसेले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘नेपाली कांग्रेस सरकारसमक्ष स्पष्ट माग गर्दछ— गृहमन्त्रीसँग सम्बन्धित सम्पूर्ण आरोपहरूको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन प्रक्रिया तुरून्त प्रारम्भ गरियोस्। यस विषयलाई ढिलासुस्ती, प्रभाव वा ढाकछोपतर्फ लैजाने कुनै पनि प्रयासले सुशासन, नैतिकता र जनविश्वासमाथि गम्भीर आघात पुर्याउनेछ।’
गृहमन्त्रीको सम्पत्ति स्रोतमाथि विभिन्न प्रश्न उठिरहेका छन्। विवादास्पद व्यापारी दीपक भट्टसँग व्यापारिक साझेदारी देखिएपछि गृहमन्त्री विवादमा तानिएका छन्।
गुरुङमाथि निष्पक्ष रुपमा अनुसन्धान गर्ने वातावरण बनाउन पनि कांग्रेसले आग्रह गरेको छ। यसका लागि गृहमन्त्री गुरुङले राजीनामा दिनुपर्ने कांग्रेसको माग छ।
‘सम्बन्धित पदमा रहदा अनुसन्धान प्रक्रियामा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पर्ने आशंका उत्पन्न हुनु स्वाभाविक हो। त्यसैले अनुसन्धानलाई स्वतन्त्र, निष्पक्ष र प्रभावरहित बनाउन आवश्यक वातावरण सुनिश्चित गरिनुपर्छ भन्ने हाम्रो स्पष्ट धारणा छ,’ कांग्रेसले भनेको छ।