• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

बिहीबारसम्म ‘हिट वेभ’को संभावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार वैशाख १० गते बिहीबारसम्म तराई र पहाडका विभिन्न जिल्लाहरूमा तातो दिन तथा तातो लहर (हिट वेभ) को सम्भावना रहेको छ । नागरिकहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।

मौसमविद् रोजन लामिछानेका अनुसार कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही र पश्चिम नवलपरासीमा मध्यम तातो लहरको सम्भावना छ ।

त्यस्तै, मधेश प्रदेशका सम्पूर्ण भू–भाग, बाग्मती र गण्डकी प्रदेशका तराई तथा पहाडी क्षेत्रहरू, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी भेग तथा खोच र उपत्यकाहरूमा समेत तातो दिन हुने सम्भावना रहेको छ। अन्य क्षेत्रहरूमा पनि तापक्रम क्रमशः बढ्ने अनुमान गरिएको छ ।

मौसमविद् लामिछानेका अनुसार तातो हावा र तातो लहरका कारण थकान लाग्ने, कमजोरी हुने, अत्यधिक तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउडिने, रिङ्गटा लाग्ने, बेहोस हुने, मांसपेशी दुख्ने तथा वान्ता हुने जस्ता स्वास्थ्य समस्या देखिन सक्छन् ।

त्यसैले गर्मीबाट बच्न घरभित्र वा शीतल स्थानमा बस्ने, चर्को घाममा बाहिर ननिस्कने, आवश्यक परे टाउको छोप्ने वा छाता प्रयोग गर्ने, बिहान वा साँझको समय बाहिरी काम गर्ने, हल्का कपडा लगाउने तथा प्रशस्त पानी र फलफूलको रस सेवन गर्न सुझाव दिइएको छ ।

स्वास्थ्यमा समस्या देखिए नजिकको स्वास्थ्य संस्थासँग सम्पर्क गरी आवश्यक सल्लाह लिन पनि अनुरोध गरिएको छ ।