धनुषा । जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक सागरशम्सेर जबराको निलम्बनको प्रक्रिया अघि बढेको छ ।
मधेश प्रदेश प्रहरी कार्यालयले विज्ञप्ति जारी गर्दै वरिष्ठ सई जबरालाई निलम्बनको प्रक्रिया अघि बढाइएको जानकारी गराएको छ । जबराले व्यापारीसँग बनावटी कथा रचेर अडियो बनाई आफ्नै कार्यालय प्रमुख तथा संगठनलाई बदनाम गरेको आरोप छ ।
‘संगठनलाई नै बदनाम गराउने उद्देश्यले प्रहरी आचरण विपरीत कार्य गरेको हुँदा प्रहरी नियमावली बमोजिम निलम्बन गर्न प्रक्रिया अघि बढाई सकिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस कार्यालयबाट आवश्यक अनुसन्धान र छानबिन कार्य भइरहेको छ ।’
सामाजिक सञ्जालमा बाहिरिएको एक जबराको मोबाइल संवादमा तस्कर राजीव महासेठले मधेश प्रदेश प्रहरी प्रमुख डिआइजी गोविन्द थपलियाको नाम जोडेर विभिन्न व्यापारीहरूसँग रकम असुली गर्ने गरेको र उक्त रकम प्रहरीमार्फत वितरण हुने गरेको दाबी गरिएको छ ।