• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

बिदाका दिनमा पनि ओपिडी सेवा सञ्चालन गर्न सरकारलाई कांग्रेस महामन्त्री पौडेलको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदिप पौडेलले सार्वजनिक बिदाका दिनमा पनि ओपिडी सेवा सञ्चालन गर्न सरकारलाई आग्रह गरेका छन् ।

उनले पछिल्लो समय सरकारी अस्पतालमा बिदाको दिन ओपिडी सेवा बन्द हुँदा बिरामीले ठूलो सास्ती भोग्नुपरेको बताएका छन् । यसले सर्वसुलभ स्वास्थ्य सेवाको पहुँच घटाएको मात्र होइन, बिरामीलाई निजी अस्पतालतर्फ जान बाध्य बनाउँदै आर्थिक बोझ समेत थपिएको उनको भनाइ छ ।

महामन्त्री पौडेलले आफू स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रहँदा बिदाका दिनमा पनि सेवा निरन्तर राख्न अतिरिक्त समय काम गर्ने चिकित्सकलाई प्रोत्साहन दिने, ओपिडी सेवा दुई सिफ्टमा सञ्चालन गर्ने तथा सेवा समय बढाउने जस्ता सुधार सुरु गरिएको उल्लेख गरेका छन् ।

यस्तै, स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने व्यवस्था र अस्पतालमा जनशक्ति अभाव पूर्ति गर्न ठूलो संख्यामा नयाँ कर्मचारी थप्ने प्रक्रिया पनि अघि बढाइएको उनले स्मरण गराएका छन् ।

उनले सरकारी अस्पतालमार्फत सहज र गुणस्तरीय सेवा विस्तार गर्दै निजी क्षेत्रलाई पनि सहकार्यमा ल्याएर मात्र स्वास्थ्य प्रणाली नागरिकमैत्री बन्न सक्ने बताएका छन् । स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा सेवा घटाउने होइन, अझ विस्तार गर्ने नीति आवश्यक रहेको उनको जोड छ ।