• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

इरानसँग जति संवर्धित युरेनियम छ, के त्यसबाट परमाणु बम बन्ला ?

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले जब इरानले युद्ध अन्त्य गर्नका लागि भएको एक सम्झौता अन्तर्गत आफ्नो संवर्धित युरयिनम भण्डार सुम्पिन सहमति जनाएको बताए, तब यसप्रति विश्वको ध्यान पुनः केन्द्रित भयो। तर, सोमबार इरानका उप–विदेशमन्त्री सइद खतिबजादेहले यस दाबीलाई खारेज गरिदिए। उनले समाचार एजेन्सी एपीलाई यस्तो विचारको साथ ‘सुरुवात नै असम्भव’ भएको बताए।

दुवै पक्षले अगाडिको शान्ति वार्ताको बाटो खोजिरहँदा यो सामग्रीको भविष्य चर्चाको एक महत्त्वपूर्ण विषय हुने निश्चित देखिन्छ। तर आखिर संवर्धित युरेनियम भनेको के हो, र यो किन यति महत्त्वपूर्ण छ?

संवर्धित युरेनियम के हो?

युरेनियम एक प्राकृतिक तत्व हो, जुन पृथ्वीको सतहमा पाइन्छ। यो धेरैजसो दुईवटा आइसोटोप मिलेर बनेको हुन्छ : यू–२३८ र यू–२३५।

प्राकृतिक युरेयिनमको ९९% भन्दा बढी हिस्सा यू–२३८ हुन्छ, जसले सजिलै परमाणु श्रृङ्खला प्रतिक्रिया (न्युक्लियर चेन रियाक्सन) लाई कायम राख्न सक्दैन। त्यस्तै, करिब ०.७% हिस्सा मात्र यू–२३५ हुन्छ, यो यस्तो आइसोटोप हो जुन सजिलै टुट्छ र ऊर्जा छोड्छ। यस प्रक्रियालाई परमाणु विखण्डन (न्यूक्लियर फिसन) भनिन्छ। युरेयिनमलाई उपयोगी बनाउन त्यसमा यू–२३५ को अनुपात बढाउनु आवश्यक हुन्छ। यसो गर्ने प्रक्रियालाई ‘संवर्धन’ (एनरिचमेन्ट) भनिन्छ।

सबैभन्दा पहिले युरेनियमलाई ग्यासमा बदलिन्छ। त्यसपछि यस ग्यासलाई सेन्ट्रीफ्युजमा हालिन्छ– यी यस्ता मेसिन हुन् जुन धेरै तीव्र गतिमा घुम्छन्। घुम्ने क्रममा भारी यू–२३८ थोरै बाहिरतिर धकेलिन्छ, जबकि हल्का यू–२३५ केन्द्रकै नजिक रहन्छ। यसरी बिस्तारै काम लाग्ने युरेनियम अर्थात् यू–२३५ लाई सामान्य यू–२३८ बाट अलग गरिन्छ। धेरै संकेन्द्रित (कन्सन्ट्रेटेड) भइसकेको यस युरेनियमलाई सेन्ट्रीफ्युजको एक छेउबाट निकालिन्छ।

परमाणु रिएक्टर र हतियारमा प्रयोग हुने युरेनियममा के अन्तर छ?

युरेनियममा संवर्धनको छुट्टाछुट्टै स्तरले यसलाई फरक–फरक कामका लागि उपयुक्त बनाउँछ। कम संवर्धित युरेनियम, जसमा सामान्यतया ३–५% सम्म यू–२३५ हुन्छ, व्यावसायिक परमाणु बिजुली घरहरूमा इन्धनको रूपमा प्रयोग गरिन्छ। यो नियन्त्रित परमाणु श्रृङ्खला प्रतिक्रिया कायम राख्नका लागि पर्याप्त हुन्छ, तर हतियार बनाउनका लागि आवश्यक स्तरभन्दा निकै कम हुन्छ।

धेरै उच्च संवर्धित युरेनियम, जसमा २०% वा सोभन्दा बढी यू–२३५ हुन्छ, रिसर्च रिएक्टरहरूमा प्रयोग गर्न सकिन्छ। अर्कोतर्फ हतियार–ग्रेड युरेनियमलाई सामान्यतया करिब ९०% सम्म संवर्धित गरिन्छ। यस स्तरमा अवस्था यस्तो बन्छ, परमाणु प्रतिक्रिया जुनसुकै बेला पनि अनियन्त्रित हुन सक्छ। जब यस प्रकारको पदार्थ ठूलो मात्रामा एकैसाथ ल्याइन्छ, तब परमाणुहरू धेरै तीव्र गतिमा टुट्न थाल्छन् एक निमेषमा नै निकै ठूलो मात्रामा ऊर्जा निस्कन्छ।

यही कुराले युरेनियमको नागरिक र सैन्य प्रयोगबीच भिन्नता पैदा गर्छ। कुनै रिएक्टरमा इन्धनलाई थोरै मात्र संवर्धित गरिन्छ र प्रतिक्रियालाई जानीजानी ढिलो राखिन्छ। यसलाई सावधानीपूर्वक नियन्त्रण गरिन्छ, ताकि महिना वा वर्षौंसम्म बिस्तारै ऊर्जा निस्कियोस्। अर्कोतिर बम बनाउनुको उद्देश्य ठ्याक्कै उल्टो हुन्छ– अर्थात् प्रतिक्रियालाई एकैसाथ पूर्ण रफ्तारमा अघि बढ्न दिनु।

२०१५ मा ६ विश्व शक्तिहरू– चीन, फ्रान्स, जर्मनी, रुस, अमेरिका र बेलायतसँग भएको एक सम्झौता अन्तर्गत इरानलाई युरेनियम ३.६७% भन्दा बढी संवर्धन गर्ने अनुमति थिएन। यस सम्झौतामा उसको युरेनियम भण्डारको सीमा पनि ३०० किलो तोकिएको थियो, चलाउन सकिने सेन्ट्रीफ्युजको संख्यामा पनि प्रतिबन्ध थियो, र उसको भूमिगत फोर्डो संयन्त्रमा संवर्धन गर्न रोक लगाइएको थियो।

यद्यपि डोनल्ड ट्रम्पको पहिलो कार्यकालमा, मे २०१८ मा अमेरिका यस सम्झौताबाट बाहिरिएको थियो।

संवर्धनको स्तर किन यति महत्त्वपूर्ण हुन्छ?

संवर्धनको स्तर जति धेरै हुन्छ, युरेनियम त्यति नै परमाणु हतियारमा प्रयोग गरिने स्थिति नजिक पुग्छ।

२०% संवर्धनसम्म पुग्नुलाई एक ठूलो खुड्किलो मानिन्छ, किनकि हतियार–ग्रेड सामग्री बनाउनका लागि जति प्राविधिक प्रयास चाहिन्छ, त्यसको ठूलो हिस्सा तबसम्म पूरा भइसकेको हुन्छ।

प्राकृतिक युरेनियमलाई २०% सम्म संवर्धित गर्न हजारौं पटक छुट्टाछुट्टै प्रक्रिया दोहोर्‍याउनुपर्छ, र यसमा धेरै समय र ऊर्जा लाग्छ। यसको तुलनामा, २०% बाट बढाएर लगभग ९०% सम्म पुर्‍याउन निकै कम चरणहरू लाग्छन्। यसको अर्थ यो हो कि धेरै स्तरसम्म संवर्धित युरेनियमलाई अपेक्षाकृत छिटो हतियार–ग्रेड स्तरमा बदल्न सकिन्छ।

इरानसँग कति युरेनियम छ?

मौजूदा वार्ताको केन्द्रमा सवाल यो छ कि इरानसँग पहिलेदेखि नै रहेको संवर्धित युरेनियमको भण्डारको आखिर के गरिनुपर्छ।

अमेरिकी अधिकारीहरूका अनुसार, युद्धको सुरुवातमा इरानसँग करिब ४४० किलो युरेनियम थियो, जसलाई ६०% सम्म संवर्धित गरिसकिएको थियो। यस सामग्रीलाई हतियार–ग्रेड युरेनियमका लागि आवश्यक ९०% स्तरसम्म अपेक्षाकृत छिटो संवर्धित गर्न सकिन्छ।

इरानसँग करिब १,००० किलो युरयिनम २०% सम्म संवर्धित रूपमा पनि छ, र करिब ८,५०० किलो युरेनियम करिब ३.६% सम्म संवर्धित छ, जसको सामान्यतया नागरिक उद्देश्यका लागि प्रयोग हुन्छ– जस्तै ऊर्जा उत्पादन वा मेडिकल रिसर्च।

मानिन्छ, अत्यधिक संवर्धित युरेनियम, जसलाई परमाणु हतियार बनाउने काममा ल्याउन सकिन्छ, त्यसको धेरैजसो हिस्सा इस्फहानमा राखिएको छ। यो संयन्त्र इरानका तीन भूमिगत परमाणु ठेगानाहरूमध्ये एक हो, जसलाई गत वर्ष अमेरिका र इजरायलको हवाई हमलामा निसाना बनाइएको थियो।

यद्यपि यो स्पष्ट छैन कि यस प्रकारको अत्यधिक संवर्धित युरेनियमको कति हिस्सा अन्य ठाउँहरूमा राखिएको छ। स्रोतहरूका अनुसार तेहरानले परमाणु संवर्धनमा २० वर्षको रोक लगाउने मागलाई अस्वीकार गरिदिएको छ। यसको सट्टा उसले पाँच वर्षको विरामको प्रस्ताव गरेको छ, जुन उसले संघर्ष सुरु हुनुभन्दा पहिले नै राखेको थियो।

इरानले आफ्नो ४४० किलो अत्यधिक संवर्धित युरेनियमको भण्डार सुम्पिने मागलाई पनि खारेज गरिदिएको छ र आफ्नो पहिले दिइएको प्रस्तावमा अडिग छ– अर्थात् ६०% सम्म संवर्धित युरेनियमलाई पातलो (डायल्यूट) बनाउने। अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सी (आईएइए) का प्रमुख राफाएल ग्रोसीले गत वर्ष अक्टोबरमा एपीसँग भनेका थिए, यदि यस मात्रालाई थप संवर्धित गरियो भने यो १० वटा परमाणु बमका लागि पर्याप्त हुनेछ।

के इरान परमाणु हतियार बनाउँदैछ?

इरानको भनाइ छ, उसका सबै परमाणु सुविधाहरू पूर्णतया शान्तिपूर्ण छन्, र आईएइएले पनि उसले कुनै सक्रिय परमाणु हतियार कार्यक्रमको प्रमाण नभेटिएको बताएको छ। हतियार–ग्रेड युरेनियम तयार गर्नु परमाणु हतियार बनाउने एउटा कडी मात्र हो। एउटा काम गर्ने बम बनाउनका लागि अन्य धेरै जटिल कामहरू गर्नुपर्ने हुन्छ, जस्तै वारहेडको डिजाइन र एसेम्बली, र त्यसलाई पुर्‍याउनका लागि डेलिभरी सिस्टम विकास गर्नु।

स्वतन्त्र हतियार नियन्त्रण विशेषज्ञ प्याट्रिसिया लुइस भन्छिन्, ‘इरानले २००३ सम्म वारहेड डिजाइन गर्ने केही क्षमता विकास गरिसकेको थियो, तर त्यसपछि यस्तो लाग्यो कि उसले यो कार्यक्रम रोक्यो।’ यद्यपि उनी यो पनि थप्छिन्, ‘२०१५ को परमाणु सम्झौता भङ्ग भएपछि र नयाँ सम्झौताका लागि वार्ता लगातार असफल भएपछि, यो सम्भव छ कि इरानले फेरि वारहेड बनाउने क्षमता विकास गर्ने निर्णय गरेको हुन सक्छ।’

अमेरिकी रक्षा गुप्तचर निकाय (यूएस डिफेन्स इन्टेलिजेन्स एजेन्सी) को मे २०२५ को मूल्याङ्कनमा भनिएको थियो कि इरानले ‘सम्भवतः एक हप्ताभन्दा पनि कम समयमा’ एउटा परमाणु उपकरणका लागि पर्याप्त हतियार–ग्रेड युरेनियम तयार गर्न सक्छ।

यद्यपि, सोही रिपोर्टमा यो पनि भनिएको थियो, इरान ‘लगभग निश्चित रूपमा यस समयमा परमाणु हतियार बनाइरहेको छैन’, तथापी, उसले यस्ता कदम चालेको छ जुन उसले चाहेको खण्डमा गर्न सक्छ।

इजरायलको भनाइ छ, ऊसँग यस्तो गुप्तचर जानकारी छ, जसबाट थाहा हुन्छ कि इरानले परमाणु हतियारका केही हिस्साहरू विकास गर्नमा ठोस प्रगति गरेको छ।

– बीबीसीको सहयोगमा ।