• २०८३ साउन ३
  • 2026 July 19, Sunday

भारत सरकारको सहयोगमा झापामा विद्यालय भवन शिलान्यास

काठमाडौं । झापा जिल्लाको गौरादह नगरपालिका-१ स्थित जनता माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि आज शिलान्यास गरिएको छ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की, भारतीय राजदूतावास काठमाडौंका काउन्सलर गीतांजलि ब्रैंडन तथा गौरादह नगरपालिकाका मेयर छत्रपति सुबेदीले संयुक्त रूपमा भवनको शिलान्यास गरेका हुन्।

भारत सरकारको करिब ५ करोड ८० लाख रुपैयाँ आर्थिक सहयोगमा निर्माण हुन लागेको उक्त विद्यालय भवन उच्च प्रभाव सामुदायिक विकास परियोजनाअन्तर्गत गौरादह नगरपालिकामार्फत कार्यान्वयन गरिने जनाइएको छ।

कार्यक्रममा मुख्यमन्त्री कार्कीलगायतका वक्ताहरूले भारत सरकारबाट प्राप्त विकास सहयोगको प्रशंसा गर्दै निर्माण हुने नयाँ संरचनाले स्थानीय विद्यार्थी र शिक्षकका लागि सिकाइ वातावरण थप सुदृढ हुने विश्वास व्यक्त गरे।

नेपाल र भारतबीच नजिकका छिमेकीका रूपमा बहुआयामिक सहकार्य रहँदै आएको उल्लेख गर्दै उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरूले पूर्वाधार विकासमार्फत स्थानीय तहमा समृद्धि अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको धारणा व्यक्त गरिएको थियो।